गोरखा, ५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल–भारतबीचको सीमा विवाद समाधानका लागि सरकार प्रयत्नशील रहेको बताएका छन्। गोरखा नगरपालिका ४ पिपलथोकमा निर्माण गरिएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पूर्णकदको सालिकको आज अनावरण गर्दै उनले नेपालले कसैको भूमिमाथि आँखा नलगाउने र नेपालको भूमिमाथि पनि कसैले थिचोमिचो गरेको मान्य नहुने बताए।
‘हामी कसैको भूमिमाथि पनि आँखा लगाउँदैनौं। हाम्रो भूमिमाथि पनि थिचोमिचो नहोस्। हाम्रो भूमिमाथि गलत ढंगबाट आँखा नलगाइयोस्’ मन्त्री भट्टराईले भने ‘भारतले नेपालको भूमि समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि सरकारले वार्ता र संवादमार्फत् विवाद समाधानका लागि प्रयत्न गरिरहेको छ।’
‘नेपाल गौतमबुद्ध जन्मिएको भूमि हो। यहाँ युद्ध, अशान्ति र झगडाको गुन्जायस छैन’ उनले भने, ‘हामी आपसी समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न तत्पर छौं ।’रासस



लाेकपाटी न्यूज

