नेकपा स्थायी कमिटी बैठक : भोली प्रचण्ड र पौडेलले थप जवाफ दिने

Nekapa_Sthayi samiti
लाेकपाटी न्यूज

काठमाडौं, ५ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठक आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक पुनः बस्नेछ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल आज आफूहरूले बैठकमा राखेका प्रतिवेदनमाथि सदस्यहरूले उठाएका प्रश्नमा केन्द्रीत रहेर जवाफ दिएका थिए। अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले बोलिसकेपछि पनि सदस्यहरूबाट पुरक प्रश्न आएपछि आइतबार जवाफ दिने भन्दै बैठक स्थगित गरिएको नेकपाले जनाएको छ।

प्रचण्डले राजनीतिक प्रतिवेदन र महासचिव पौडेलले विधान संशोधन गर्ने प्रस्तावसहितको प्रतिवेदन गत मंसिर २९ गते स्थायी कमिटीमा पेश गरे पछि त्यसमाथि सदस्यहरूले आफ्ना धारणा राखेका छन्।
नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ।

‘प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई निष्कर्षका रूपमा पारित गर्ने काम भोलिको बैठकबाट हुनेछ,’ श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ। बैठकमा उठेका प्रश्नमाथि जवाफ दिएका प्रचण्डले सदस्यहरूले उठाएका कुराले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीव्रता प्रदान गर्न, तीनै तहका सरकारलाई प्रभावकारी बनाउन, देशलाई सही दिशामा अघि बढाउन मद्दत पुगेको पनि बताएका थिए।