काठमाडौं। सरकारको अपजसको भागिदार आफ्नो पार्टी नहुने सत्ता साझेदार समाजवादी पार्टी, नेपालकी उपाध्यक्ष रेणु यादवले बताएकी छन्। सरकार सञ्चालनमा समाजवादीसँग कुनै सरसल्लाह नहुने भएकोले सरकारको अपजसको भागिदार समाजवादी पार्टी नहुने तर्क उनले गरेकी हुन्।
रातोपाटी अनलाइनसँगको कुराकानीमा उपाध्यक्ष यादवले भनेकी छन्, ‘समाजवादी पार्टी सरकारको अपजसको भागिदार हुँदैन। किनभने हामी सम्पूर्ण सरकार होइन। सत्ता नेकपाको हातमा छ त्यसैले समाजवादी पार्टीले सिङ्गो सरकारको अपजस बोक्दैन। र, सरकार सञ्चालनमा हामीसँग कुनै सरसल्लाह पनि हुँदैन। हामीले सम्हाल्दै आएको मन्त्रालयको मात्र जस अपसज लिन सक्छौं, पुरै सरकारको लिन सक्दैनौं।’
उपेन्द्र यादवको नेतृत्वमा समाजवादी पार्टी सत्ता साझेदारका रुपमा काम गरिरहेको छ। उनले पार्टी अध्यक्ष यावद स्वास्थ्य मन्त्रालय रहँदा राम्रो काम भएको चर्चा पनि गरेकी छन्। तर उनको काम नदेखिएकोमा असन्तुष्टी समेत व्यक्त गरेकी छन्। यादवले भनेकी छन्, ‘साझेदार भएको व्यक्तिले सम्पूर्ण कुरा चलाउँदैन। स्वास्थ्य मन्त्रालयले यो अवधिमा जति काम गरेको छ, त्यो कहिल्यै भएको थिएन। तर देखिएको छैन। समाजवादी पार्टीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउँदा कति काम भयो भनेर पाना पल्टाएर हेर्नुपर्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को पुनरगठन गरेपछि अहिले सत्ता साझेदार पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानून मन्त्रालयको जिम्मेवारी पाएका छन्। मन्त्रीपरिषद् पुनरगठन भएको समयमा जिम्मेवारी हेरफेर गर्दा अपमानित हुने विषय नभएको समेत उनले उल्लेख गरेकी छन्। जिम्मेवारी हेरफेरले झन समाजवादी पार्टीलाई उपयुक्त ठाउँमा ल्याएको दाबी गरेकी छन्।
तर सरकारको काममा भने उनले असन्तुष्टी जनाएकी छन्। उनले भनेकी छन्, ‘जनताले धेरैपछि बहुमतको सरकार निर्माण गर्ने म्याण्डेट दिएका छन्। नत्र अस्थिर सरकार हुन्थ्यो, मुलिजुली गठबन्धनको सरकारको हुन्थ्यो तर अहिले शक्तिशाली सरकार निर्माण भएको छ। यद्यपी सोचे अनुसारको काम भएको छैन। जस्तो शक्तिशाली सरकार बनेको छ त्यो अनुसारको काम भएको छैन। जनतालाई डेलेभरी दिन सकेको छैन।’
पछिल्लो समय फेरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको दुई बुँदे सम्झौताले नेपालको राजनीतिमा हलचल ल्याएको छ। दुई बुँदे सम्झौताले समाजवादी पार्टीलाई ठूलो धक्का लागेको र राजपा नेपाल सत्ताको लाइनमा गएको विश्लेषण भइरहेको छ। तर उपाध्यक्ष यादवले यस विषयलाई समाजवादी पार्टीद्ये गम्भीरता पूर्वक नलिएको बताइन्। उनले राजनीतिमा यस्तो भइरहेको बताइन्।
उनले भनेकी छन्, ‘समाजवादी पार्टीले गम्भीरतापूर्वक लिएको छैन। राजनीतिमा यस्तो हुन्छ। यो कुनै नौलो कुरा होइन। राजनीतिमा यस्ता थुप्रै मोड आउँछन्। उतार चढाव भइरहन्छ। समाजवादी पार्टीसँग एकीकरणका लागि वार्ता र छलफलहरु चलिरहेको समयमा नेकपासँग तालमेल गर्नुले अलिकति चर्चा पाएको मात्र हो।’ उनले एकीकरणको सन्दर्भमा राजपा नेपालले समाजवादी पार्टीले सरकार छाड्नुपर्ने जोडदिइरहेको बेला आफैँ सत्ताको लाइनमा उभिएकोपछि अब जनतालाई जवाफ दिनुपर्ने अवस्था बनेको बताइन्।
नेकपा र राजपाको सम्झौताले अब प्रदेश २ को सरकार परिर्वतन हुने चर्चा पनि सुरु भएको छ। यस विषयमा उनले भनिन्,’टाढा टाढासम्म यसको सम्भावना छैन। यो हल्ला गराइएको मात्र हो। किनभने जनताले राजपा र समाजवादी पार्टीलाई नै प्रदेश २ को सरकार सञ्चालन गर्ने म्याण्डेट दिएको छ। एक माघले मात्र जाडो कट्दैन भनेजस्तै समाजवादी पार्टी वा राजपा कुनै पनि दलले जनताको म्याण्डेट विपरित जान सक्दैन।’



लाेकपाटी न्यूज

