स्वास्थ्य चौकीलाई १ करोड बढीको जग्गा दान

Health_post
लाेकपाटी न्यूज
  • थम्मन थापा

बागलुङ। गलकोट नगरपालिका ७ मल्ममा आधुनिक किसिमको स्वास्थ्य चौकी निर्माण हुने भएको छ। आगाँखेतका केसी परिवारले निःशुल्क जग्गा प्रदान गरेपछि स्वास्थ्य चौकी निर्माण हुने भएको हो।

स्वास्थ्य चौकी निर्माणको लागि नगरपालिकाले लामो समयदेखि जग्गाको खोजी गरिरहेको थियो। जग्गाको अभावमा आधुनिक किसिमको स्वास्थ्य चौकी निर्माण हुन सकेको थिएन। हाल रहेको स्वास्थ्य चौकीको जग्गा साँघुरो छ। नयाँ भवन निर्माणको लागि पर्याप्त जग्गा छैन। गत जेठ महिना देखि जग्गाको खोजी सुरु भएको थियो।

वडा कार्यालयको भेलाले स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समिति चयन गरेको। आँगाखेतमा जग्गा प्राप्त भइसकेकोले अब नयाँ मापदण्ड अनुसारको स्वास्थ्य चौकी निर्माण सुरु गरिने जग्गा व्यवस्थापन समितिका उप संयोजक वसन्त क्षेत्रीले जानकारी दिए।

स्वास्थ्य चौकी निर्माणको लागि गलकोट नगरपालिका ७ मल्म आँगाखेतका होम बहादुर घिमिरेले ८ आना, गजेन्द्र केसीले ८ आना, नारायण केसीले ८ आना, भरत केसीले ८ आना, टिका बहादुर केसीले ८ आना, लाल बहादुर केसीले ८ आना, टोपकली केसीले ८ आना र गजेन्द्र केसी खेतले सडक ट्रयाक सहितको ८ आना गरी जम्मा ४ रोपनी ४ आना जग्गा निःशुल्क प्रदान गरेको वडा नं ७ का कार्यवाहक वडा अध्यक्ष लोक बहादुर थापाले जानकारी दिए।

उक्त जग्गाको मूल्य करिब १ करोड २९ लाख बराबरको रहेको उनले बताए। जग्गा दातासँग वडाको समन्वयमा कागजी प्रक्रिया समेत पुरा गरिएको मल्म स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समितिका सचिव राजकुमार दर्जीले जानकारी दिए। अब निर्माण स्थलसम्म सडकको ट्रयाक खोल्ने र मालपोत कार्यालय बागलुङमा स्वास्थ्य चौकीको नाममा जग्गा रजिष्ट्रेशन पास गर्ने सहमति भएको छ।

आधुनिक स्वास्थ्य चौकी निर्माण भएपछि बर्थिङ सेन्टर ( प्रसूति गृह ) लगायत स्वास्थ्य चौकीबाट प्राप्त हुने आधुनिक स्वास्थ्य सुविधा जनताले प्राप्त गर्ने छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्