काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दलका सांसदहरुलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ। शुक्रबार नयाँ बानेश्वरमा बसेको सो पार्टीको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन्।
बैठकमा पार्टी एकता, स्थायी समिति बैठक, केन्द्रीय समिति बैठक लगायत पार्टीका कामलाई व्यवस्थित गर्ने विषयमा अध्यक्ष प्रचण्डले निर्देशन दिएको बरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए। त्यस्तै दलका उपनेता सुवासचन्द्र नेम्वाङ दललाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा जानकारी गराएका थिए। दलको बैठकमा नेकपाबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल भएपनि नेकपाले सभामुखको नाम गोप्य राखेको छ।
नेता नेपालले सभामुखबारे कुनै छलफल नभएको प्रतिकृया दिए। उनले सभामुखमा नेकपाले उम्मेदवार उठाउने दावी समेत गरे। ‘सभामुखमा नेकपाले स्वभाविक दावी गर्छ’ नेता नेपालको भनाई थियो। उनले उपसभामुखबारे भने पछि छलफल गर्ने बताए।
त्यस्तै दलको बैठकमा अमेरिकी सहयोग एमसीसीबारे सोधिएको प्रश्नमा एमसीसी सैन्य गठबन्धनमा नजोडिएको भए स्वीकार गर्ने र त्यसमा कसैले आपत्ति जनाउनुपर्ने विषय नभएको नेता नेपालको भनाई छ। त्यस्तै महासचिव विष्णु पौडेलले उपनिर्वाचनबारे दलको बैठकमा छलफल भएको भन्दै सभामुखका बारेमा प्रकृया सुरु भएपछि आवश्यक छलफल गर्ने प्रतिकृया दिए।



लाेकपाटी न्यूज

