काठमाडौं, ४ पुस । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएकी छिन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको २८ औं वार्षिक साधारणसभालाई आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।
अब सहकारी क्षेत्रलाई डिजिटलाइज्ड गर्नुपर्ने भन्दै मन्त्री अर्यालले हिजोका दिनमा एक महिना लाग्ने काम अब एक दिनमा सम्पन्न हुने गरी समयसापेक्ष प्रविधिको प्रयोग गर्न आग्रह गरिन्। ‘हिजो एक महिना लाग्ने काम अब एक दिनमा हुनुपर्छ। अहिलेका बैंकहरुसँग प्रतिस्पर्धा गर्नसक्ने प्रतिस्पर्धी क्षमताको विकास सहकारीहरुले गर्नुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘अब सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउँ। त्यसपछि हामी अगाडि बढ्न सहज हुन्छ।’
सहकारी क्षेत्रमा केही सम्भाव्य खतराहरु देखापरेको भन्दै मन्त्री अर्यालले अब सहकारीका सञ्चालक सदस्यहरुले प्रत्येक वर्ष सम्पत्ति विवरण पेश गर्नुपर्ने बताइन्।अब परम्परावादी ढंगले सहकारी चल्न नसक्ने भन्दै समयसापेक्ष सहकारीले प्रविधिको प्रयोग गर्नुपर्ने बताइन्।
सहकारी अभियानले अब संख्या बढाउने भन्दा पनि गुणस्तरियतामा प्राथमिकता दिनुपर्ने भन्दै उनले सहकारी संस्थाहरुको मर्जर अभियान अभियन्ताहरुलाई हेरेर ल्याइएको बताइन्। संस्था धेरै भएर मात्र प्रगति नहुने भन्दै उहाँले बित्तिय कारोबार बढी गर्ने संस्थाहरुबीचमा बढी मर्जर गर्न खोजिएको बताइन्। संस्था बढाउनुभन्दा मर्जर गरेर कार्यक्षेत्र बढाउदा बढी राम्रो हुने उनको भनाइ थियो।
सरकार, सहकारी र नीजि क्षेत्रलाई राज्यले संविधानमार्फत् विकास र समृद्धिको साझेदार मानिसकेको दोहो¥याउदै मन्त्री अर्यालले अब सहकारीमार्फत् मुलुक समृद्धिको दिशामा अगाडि बढ्नुपर्ने बताइन्। कृषिको आधुनिकिकरण, यान्त्रिकिकरण र औद्योगिकिकरणमा राज्य अगाडि बढ्ने भन्दै त्यसको अगुवाई सहकारीले गर्नुपर्ने मन्त्री अर्यालको भनाइ थियो।
राष्ट्रिय पुँजिको निर्माण आजको मूल विषय भएको भन्दै मन्त्री अर्यालले उत्पादन र उत्पादकत्व वृद्धि नगरी राष्ट्रिय पुँजी निर्माण हुन नसक्ने बताइन्। राज्यले लिएको समाजवादमा पुग्ने लक्ष्य पूरा गर्न सबै प्रकारको गरीबीको अन्त्य हुनुपर्ने बताइन्। ‘सबै प्रकारको गरीबीको अन्त्य पहिलो मन्त्र हो। सहकारीसँग तल्लो तहसम्मका जनतालाई मोटिभेशन गर्ने शक्ति छ’, मन्त्री अर्यालले भनिन्, ‘२/४ जनाले प्रगति गरेर हुँदैन। तल्लो वर्गलाई माथि उठाउने गरी अबको सहकारी गतिविधि सञ्चालन गर्नुस्।’
निम्न वर्गलाई सदस्य बनाएर आफ्नो सदस्यलाई माथि उठाउने गतिविधि गर्न आग्रह गर्दै मन्त्री अर्यालले आफ्नो सदस्यको हितका पक्षमा काम गर्न आग्रह गरिन्।



लाेकपाटी न्यूज

