दमकका पीडितको पत्रकार सम्मलेन : ‘हामी सबै सुकुम्बासी भयौं’

press meet
लाेकपाटी न्यूज

दमक, ३ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरस्थित बालुवाटार जग्गा काण्डको दर्दनाक पक्ष सार्वजनिक भएको छ। नेकपाका नेता गगन पुरीको समूहले बालुवाटारको ५० बिगाहा जति जग्गा कीर्ते कागज गरेर कब्जा गरेका थिए।

सो जग्गाका बास्तविक हकदार विपन्न सुकुम्वासीहरुले गगनको ठगी र अत्याचार विरुद्ध बोलेका छन्। गगन पुरी गत चुनावमा दमकमा मेयरका उम्मेदवार थिए। दमकमा पत्रकार सम्मेलन गर्दै उनीहरुले गगन पुरीको समूहले सरकारी कागजात कीर्ते गरेर आफ्नो जग्गा कसरी लुटे भन्ने वयान गरेका छन्।

पीडित सञ्जीव मगरले पत्रकार सम्मेलनमा भने– ‘हामी बाल्यलदेखि नै त्यो जग्गामा बसेको हो। पछि बाढीले जग्गा लग्यो र हामी विस्थापित भयौं। रतुवा नदीमा तटवन्ध बनेपछि जग्गा राम्रो भयो, मूल्यवान पनि भयो। तर सबै जग्गा कीर्ते गरेर गगन पुरीले कब्जा गरे।’

गगनसँग आफूहरुले बारम्बार जग्गा फिर्ता मागेको र उनले दिन्छु पनि भनेको तर अहिले फरार भएको पीडितहरुले बताए। कीर्ते गरेर जग्गा कब्जा गरेको विषयमा सिआइबीले छानविन गरेर गगन विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि आफूहरुले जग्गा फिर्ता पाउने आशा बढेको उनीहरुले बताए।

दमक बालुवाटारको जग्गा घोटाला काण्ड नेपालकै सबैभन्दा ठूलो जग्गा कीर्ते काण्ड मानिएको छ। यो कीर्ते काममा संलग्न कर्मचारीहरु कृष्ण भट्टराई र विनोद मण्डल पक्राउ परेका छन् भने गगन पुरी फरार छन्। अन्य केही पूर्व कर्मचारीहरु पनि फरारको सूचीमा छन्। गगन पुरी भारतमा भएको बताइएको छ। भारतबाट उनलाई पक्रेर तत्काल नेपाल ल्याउन पीडितहरुले माग गरेका छन्।

पीडित बुद्धिमान माझीले पत्रकार सम्मेलनमा सुनाए– ‘गगन पुरी ठूलो नेता हो, हामीलाई धम्काउँछ, उसले मेरो जग्गा खायो।’ माझीले भने– ‘मेरो जग्गा माग्दा गगनले खोलाले छोडेको जग्गा मेरो हुन्छ, नछोडेको जग्गा तेरो हुन्छ भन्यो।’ ६८ वर्षीय माझी दमकमा ठेला चलाएर खान्छन्। आफ्नो साढे तीन कठ्ठामध्ये १२ धूर मात्र बाँकी रहेको, बाँकी जग्गा गगनले कब्जा गरेको उनले बताए।

पत्रकार सम्मेलनमा मनप्रसाद लिम्बूले बालुवाटारमा आफ्नो परिवारको १३ कठ्ठा जग्गा भएको तर गगनले सो जग्गा कीर्ते कागज बनाएर कब्जा गरी ग्यास उद्योग राख्न कम्पाउण्ड लगाएको बताए। अर्का एक पीडितले बताए– ‘अहिलेसम्म गगनको डरले हामी कोही बोल्न सकेका थिएनौं, अब ऊ नै डराएर भागिसक्यो। अब हामी डराउँदैनौं। गगनको अत्याचार विरुद्ध बोल्छौं।’

पीडित एकजनाले भने– ‘यो जग्गा काण्डमा गगन एक्लै छैन, उसको ग्याङमा धेरै नेताहरु छन्। उनीहरुको समूहले झापा जिल्लाका विभिन्न ठाउँमा सयौं बिगाहा जग्गा कीर्ते गरेर कब्जा गरेको छ।’ पीडितहरुले बताएअनुसार गगनले कब्जा गरिएका सबै जग्गाको कित्ताकाट गर्न भने सकिरहेका थिएनन्। कित्ताकाट गर्न नसके पनि त्यहाँको जग्गा पछि कित्ताकाट गरिदिन्छु भन्दै धेरै जनालाई बेचेका छन्।

पीडित सञ्जीव मगरले भने– ‘त्यो जग्गा गगनको होइन। ८८ परिवार सुकुम्वासीको जग्गा हो भन्ने थाहा पाउँदा पाउँदै किन्ने, गगनलाई बैना रकम बुझाउनेहरुलाई पनि ठगी र जालसाजीमा मुद्दा चलाइनुपर्छ। यदि उनीहरुलाई गगनले ठगेको हो भने उनीहरुले पनि गगन विरुद्ध उजुरी दिनुपर्छ।’

प्राप्त जानकारीअनुसार यो जग्गा काण्डमा केही दिनभित्रै अदालतमा मुद्दा दर्ता हुँदैछ। यही जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन अगाडि बढाएको छ। अब पीडितहरुले सबै राजनीतिक दललाई मागपत्र दिने भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्