उम्मेदवारी घोषणा गर्दै शेर्पाले भने : ‘शेर्पाबाट पनि न्यायाधीशहरु जन्माउनेछौं’

nawang sonam shepa (2)
लाेकपाटी न्यूज

काठमाडौं, ३ पुस। नेपाल शेर्पा संघको पौष ४ गते देखि हुने महाधिवेशनमा ङवाङ सोनाम शेर्पाले अध्यक्षमा उम्मेदवार घोषणा गरेका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ङवाङले उम्मेदवारी घोषणा गरेका हुन्।

संघका बहालवाला महासचिव ङवाङलाई निवर्तमान अध्यक्ष पेमा छिरी शेर्पा, सल्लाहकार आङछिरिङ शेर्पा, निमी शेर्पा, पूर्व महासचिव ङिमा तेण्डुप शेर्पा, सदस्य छिरिङ ओङदी शेर्पालगायतले समर्थन गरेका छन्। कार्यक्रममा उम्मेदवारी घोषणा गर्दै ङवाङ सोनाम शेर्पाले आफू सकेसम्म सर्वसम्मतबाट चयन हुनेतर्फ बढिरहको र नभएमा अत्याधिक बहुमतले विजयी हुने बताए। संघ सामाजिक संस्था भएकाले यसमा राजनीति नगर्न आग्रह गरे।

सामाजिक संस्थालाई राजनीतिक थलो नबनाउन आफ्नो उम्मेदवारी रहेको बताए। उनले भने, ‘यसलाई हामी सबैले शेर्पाहरुको साझा थलोका रुपमा अझ विकास गर्छौं।’ उनले सबैलाई समेटेर जान आफू निरन्तर सक्रिय रहेको बताए। आफ्नो उम्मेदवारीको समर्थनमा शेर्पा संघका वर्तमान र पूर्व पदाधिकारीहरु समेत रहेको बताए। शेर्पाहरुको धर्म संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्नका साथै विकास गर्न आफूले विशेष भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे।

शेर्पा समुदायलाई देशको सबै क्षेत्रको मूलधारमा प्रवाहीकरण गर्न कार्यक्रम अगाडि सार्ने बताए। ङवाङले भने, ‘शेर्पा समुदाय अहिलेसम्म न्यायाधीश बन्न सकेका छैनन्, प्रहरीमा उच्च पदमा पुगेका छैनन्, निजामतीको उच्च पदमा पुग्न सकेका छैनन् र सेनाको उच्च तहमा छैनन्।’ युवाहरुलाई सशक्त बनाउन आफूले प्रभावकारी कार्यक्रम ल्याउने समेत बताए। उनले सम्पूर्ण शेर्पाहरुको हकहितको लागि दुरदराजमा रहेका शेर्पाहरुलाई राज्यको मुलधारमा ल्याउन पहलकदमी गर्ने पनि बताए।

‘हिमाल भन्नु नै नेपाल र नेपाल भन्नु नै हिमाल हो भन्ने पनि प्रमाणित गर्नलाई मेरो उम्मेदवारी हो,’ उनले भने। शेर्पा संघका पूर्व अध्यक्ष पेमा छिरिङ शेर्पाले ङवाङ सोनाम शेर्पाको उम्मेदवारीको समर्थन गर्दै उनमा नेतृत्व क्षमता रहेको बताए। सबैलाई मिलाएर लान सक्ने भएकाले ङवाङ सक्षम र सशक्त उम्मेदवार भएको जननकारी दिए। छरिएर बसेका शेर्पाहरुलाई एकताको शुत्रमा बाध्न, शेर्पाहरुको हक अधिकार सुनिश्चिन गर्न ङवाङलाई जिताउनुपर्ने बताए।

नेपाल शेर्पा संघको सल्लाहकार आङ छिरिङ शेर्पाले शेर्पा संघ विशुद्ध सामाजिक संस्था भएकाले यसमा राजनीतीकरण गर्नु हुँदैन भन्दै केही अग्रजहरुले विभाजन ल्याउन खोजिरहेकोमा असन्तुष्टि व्यक्त गरे। उनले शेर्पा समुदायमा विभाजन र राजनीतिक हस्तक्षेप नगर्न पनि आग्रह गरे। संघका पूर्व महासचिव ङिमा तेण्डुप शेर्पाले ङवाङसँग सबैलाई मिलाएर जानसक्ने क्षमता देखाइसकेको बताए। महासचिव हुँदा राज्यको सम्बन्धित निकायमा शेर्पा समुदायको मागको सम्बोधन गराउन विशेष भूमिका खेलेर क्षमता देखाइसकेको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्