काठमाडौं, ३ पुष। विभिन्न धार्मिक संघ–संस्थाहरुले क्रिसमसको अवसरमा देशभरिका विभिन्न सामूदायिक तथा निजी विद्यालयहरुले विद्यार्थीहरुलाई बलजफ्ती ‘क्रिसमस–टोपी’ लगाउन बाध्य बनाएको भन्दै कडा निन्दा गरेका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा हिन्दू जागरण नेपाल, विश्व हिन्दू महासंघ, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति, हिन्दू युवा संयोजन समिति, विश्व हिन्दू महासंघ नेपाललगायतका संघ/संस्थाहरुले यस्तो निन्दा गर्दै विद्यालयहरुको उक्त कदमको विरोध गरेका छन्।
कार्यक्रममा बोल्दै विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले सनातन हिन्दू धर्ममाथि पश्चिमाहरुको आक्रमण हुन थालेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, ‘पैसाको प्रलोभनमा धर्म परिवर्तन गराए गराए, हुँदाहुँदै अब विद्यालयहरुले बाल मस्तिष्कमा नै प्रभाव पार्नेगरि पश्चिमा संस्कृतिको प्रचारप्रसार गरिरहेका छन्। यसप्रति हाम्रो समितिको घोर भत्र्सना छ। यी कदम नसच्याइए हामी ती विद्यालयहरुमा पुगेर कारबाही गर्न पनि पछि हट्दैनौं।’
विश्व हिन्दू महासंघ नेपालका महासचिव गणेश न्यौपानेले क्रिसमसको अवसर होस वा अन्य कुनै पनि अवसरमा पनि बेधर्मीबाट सनातन धर्म, हिन्दू संस्कृतिमाथि प्रहार भए चुप लागेर नबस्ने चेतावनी दिए। अर्का वक्ता ॐकार महाअभियानका अभियन्ता तथा विश्व हिन्दू महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश कुमार सिजापतिले पनि साना साना बालबालिकालाई प्रभाव पर्नेगरि विद्यालयहरुले पश्चिमाहरुको डिजाइनमा क्रिसमसको अवसर पारेर पोशाक लगाउन बाध्य बनाइएकोप्रति विरोध जनाए।
हिन्दू जागरण नेपालका धार्मिक तालिम संयोजक ध्रुवराज लुइँटेलले धर्म परिवर्तनको विरुद्धमा आफूहरु देशव्यापी सशक्त रुपमा लागिरहेको स्पष्ट पारे। उनले पनि क्रिसमसको अवसर पारेर विद्यालयहरुमा क्रिश्चियनिटी बढाउने काम नरोकिए सशक्त प्रतिकार गर्ने चेतावनी दिए। शिवसेना नेपालका मजदुर विभाग प्रमुख मनोज सापकोटाले विगतको इतिहास सम्झन हिन्दूविरोधीहरुलाई चेतावनी दिँदै हिन्दू धर्म, संस्कृति विरुद्ध कुनै पनि कार्य नगर्न कडा चेतावनी दिएका छन्।
हिन्दू युवा संयोजन समितिका संयोजक अभिषेक जोशीले क्रिसमस नै कुन तिथि वा तारिकमा मनाउने भन्ने कुरा नै अन्यौल रहेको बताउँदै ईशाइहरुले समेत नमनाउने क्रिसमसलाई नेपालमा सामाजिक रुपमा मनाउन खोज्नु अपराध भएको टिप्पणी गरे। उनले भने, ‘पैसाको प्रलोभनमा परेर यस किसिमका कार्यहरु कुनै पनि विद्यालयहरुले नगरुन्, यदि गरेको थाहा पाइएमा हामी कडा रुपमा प्रतिकारमा उत्रिन्छौं।’
वीर गोरखालीका धार्मिक अभियन्ता नगेन्द्र देउजाले सनातन हिन्दू अधिराज्य मासेर नै यस किसिमका गतिविधि बढेको दाबी गरे। उनले भने, ‘क्रिसमस वा अन्य कुनै पनि चाडपर्वलाई लक्षित गरी बेधर्मीहरुले हिन्दूविरोधी कार्यक्रम गरेर हामी प्रतिरोध गर्छौं।’ पत्रकार सम्मेलनमा आगामी पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौं उपत्यकालगायत देशभरि नै शक्ति प्रदर्शन गर्न ॐकार महाअभियान सक्रिय रुपमा लागिरहेको जनाइएको छ।
क्रिसमसको अवसर पारेर विभिन्न विद्यालयहरुले पश्चिमा संस्कृतिको प्रचारप्रसार र विद्यार्थीहरुलाई जबरजस्ती क्रिसमस टोपीलगायतका सामाग्री लगायन बाध्य बनाइएकोबारे उनीहरुले प्याब्सन र एनप्याव्सनलाई विरोधपत्र समेत बुझाइसकेको बताएका छन्।



लाेकपाटी न्यूज

