धनुषा, २ पौष। बलात्कार होइनभन्दै गलत रिपोर्ट बनाउने दुईजना डाक्टरलाई कैद सजाय तोकेको छ।बलात्कार घटनामा गलत रिपोर्ट दिने तत्कालीन जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकलाई अदालतले जरिवानासहित कैद सजाय तोकेको हो। मंगलबार विशेष अदालत काठमाडौं डाक्टर विजयकुमार सिंह र डाक्टर रम्भा गोइतलाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको हो ।
धनुषाको जनकनन्दिनी गाउँपालिकामा भएको एक बलात्कारको घटनामा बालिकाको नमुना परीक्षणपछि बलात्कार नभएको गलत प्रतिवेदन दिएको मुद्दामा डा. सिंह र डा. गोइतलाई अदालतले कैद सजाय सुनाएको हो। विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालमा कार्यरत रहेका उनीहरुले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै १६ कात्तिक २०७५ मा मुद्दा दायर गरेको थियो । डाक्टर सिंह र डाक्टर गोइतलाई न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यावसायिक प्रमाणपत्र यसअघि नै निलम्बन गरिएको थियो।
घटनाबारे अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले दुई डाक्टरलाई चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णयसमेत गरेको थियो। २०७५ भदौ ८ गते धनुषाको जनकनन्दिनी गाउँपालिका २ की बलात्कृत बालिकाको नमुना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन उनीहरुले दिएका थिए । अपराधीलाई जोगाउन उनीहरुले यस्तो प्रतिवेदन दिएको अध्ययनमा पाइएको थियो।
जनकपुर र सिरहामा बालिकाको नमुना परीक्षणको फरक-फरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डाक्टर कालुसिंह खत्रीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो। समितिले बयानका लागि बोलाउँदा अटेर गरी बसेको भन्दै जिल्ला अस्पताल सिरहाका चिकित्सक सिंहलाई सात दिनको म्याद दिई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको समितिका प्रवक्ता डाक्टर कृष्णप्रसाद अधिकारीले जानकारी दिएका छन्।
धनुषाको जनकनन्दनी गाउँपालिकाकी १२ वर्षीया बालिकालाई २०७५ भदौमा घरमा सुतिरहेका बेला छिमेकी २३ वर्षीय किरण खत्वेले बालात्कार गरेका थिए । तर त्यस घटनामा यी दुई चिकित्सकले अपराधीलाई जोगाउन बलात्कार नै नभएको भन्ने गलत रिपोर्ट दिएका थिए। तर, पीडित परिवारले अञ्चल अस्पतालको रिपोर्टमाथि चित्त नबुझेपछि गत भदौ २५ गते जिल्ला अस्पताल सिरहामा बालिकाको पुनः स्वास्थ्य परीक्षण गराउँदा बलात्कार भएको रिपोर्ट आएको थियो ।
आरोपित खत्वेले प्रहरीसमक्ष आफूले बलात्कार गरेको स्वीकार गरिसकेका छन्। त्यही बयानको आधारमा जिल्ला अदालत धनुषाले उनलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो।



लाेकपाटी न्यूज

