काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी क्षेत्रलाई एकीकृत ढङ्गले उत्पादन क्षेत्रमा लगानी गरी समाजवादको सारथि बन्न आग्रह गरेकी छन्।
काठमाडौंमा बुधवार राष्ट्रिय सहकारी बैङ्कको आयोजनामा भएको ‘कोअपरेटिभ लिडर्स नेशनल फोरम २०७६’ कार्यक्रममा बोल्दै देशको समृद्धिका लागि मुलुकभर छरिएर रहेका सहकारीहरूले एकीकृत र व्यावसायिक ढङ्गले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा उनले जोड दिइन्। मन्त्री अर्यालले भनिन्, ‘पूँजीको निमार्णविना समाजवाद आउँदैन, त्यसैले सहकारीले पूँजी निमार्ण गर्नुपर्छ र उत्पादनमा लगाउनुपर्छ, तब समाजवादको रेखा कोरिन्छ र सहकारी कर्मीले समाजवादको अभियन्ता भन्न पाउनुहुन्छ।’
मन्त्री अर्यालले आर्थिक समृद्धिलाई प्राथमिकताका राखेर सहकारीहरूले काम गर्नुपर्ने बताइन्। सरकारले सबै सहकारीहरूलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी आवश्यक कानूनको तर्जुमा गरिरहेको बताउँदै दिगो लक्ष्य हासिल गर्नका लागि बढी भन्दा बढी लगानी र व्यक्ति सहभागी भएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा जोड दिइन्।
अबको दिशा समृद्धि र विकासकै दिशा भएको बताउँदै सहकारी संस्थाहरू एकीकृत उत्पादनमा लाग्नुपर्ने उनको जोड थियो। त्यस्तै राष्ट्रिय सहकारी बैङ्कले पनि त्यस्तो क्षेत्रमा लगानी गर्न उनको सुझाव छ।
समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई जनस्तरमा पुर्याउने माध्यम सहकारी भएकोले सहकारीमा सुशासन र सङ्गठनात्मक अवस्था मजबुद हुनुपर्छ उनले भनिन्। अब सहकारीको गफ र भाषण गरेर मात्र नपुग्ने बताउँदै उनले भनिन् ‘गाउँ–गाउँको समृद्धिको अभियान विषयगत सहकारीबाट चलाइने छ, यसका लागि कृषि सहकारीलगायत विषयक सहकारी आवश्यक छ, प्रक्रियागत ढङ्गले सहकारीको सङ्ख्या घटाउने र बढाउने गरिन्छ।’
मन्त्री अर्यालले कृषि सहकारीमार्फत ठुला स्तरका कृषि फार्म तथा उद्योग सञ्चालन गर्ने वातावरण बनाइने बताइन्। ‘सरकार सहकारीमा कानूनी बाधक बनेको पनि छैन र बन्दैन पनि, हामी फरक ढङ्गले सहकारीमार्फत विकासका काममा काम गर्ने अभियानमा छौं’ उनले भनिन्। सहकारीकर्मीले पनि सहकारी कानूनमा रहेर सरकारको समृद्धिको यात्रामा साथ दिनुपर्ने उनको धारणा थियो।
मन्त्री अर्यालले सरकार किसानमैत्री, सहकारीमैत्री भएर समृद्धिको अभियान चलाउने योजना बनाइरहेका बेला जमिनलाई फरक ढङ्गले सदुपयोग गर्दै अधिकतम उत्पादनमा लाग्न आग्रह गरिन्।



लाेकपाटी न्यूज

