काठमाडौं, १ पुस। प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले धनशक्ति र जनशक्तिको अभावमा पनि आफूहरुले उल्लेख्य उपलब्धि हासिल गरेको दावी गरेका छन्। उनले भने, ‘प्रतिकूल अवस्थामा पनि हामीले तदारुकताका साथ काम गरेर उल्लेख्य उपलब्धि हासिल गरेका छौं। चौतर्फी कामहरु भइरहेका छन्।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री सोनलले सीमित स्रोत र साधनको बावजुद पनि प्रदेश नम्बर २ को सरकारले राम्रो काम गरेको स्पष्ट पारेका हुन्। उनले भने, ‘हामीसँग लिमिमेट रिसोर्स छन्। हामीसँग न्यूनतम बजेट पनि छैन। केन्द्र सरकारलाई हामी आग्रह गरिरहेका छौं। केन्द्रले पनि हामीसँग समन्वय गरोस्। हाम्रा सम्भावनाहरुमा केन्द्रले प्रचुर लगानी गरोस्।’
सोनालले काम गर्नका लागि आवश्यक जनशक्तिको पनि अभाव रहेको गुनासो पोखे । उनले २ नम्बर प्रदेशमा अहिलेसम्म ६०–७० प्रतिशत मात्रै कर्मचारी पुगेको स्पष्ट पारे। उनले भने, ‘कतिपय कार्यालयहरुमा कर्मचारीको रिक्तता छ। हामीसँग म्यानपावर पातलो छ। अझै कार्यालयमा सचिवहरु छैनन्।’ ‘२ नम्बर प्रदेशमा ८ वटा जिल्ला छन्, हामीसँग अहिलेसम्म चार वटामात्रै पूर्वाधार विकास कार्यालय छन्। एउटा जिल्लामा एउटा पूर्वाधार विकासको कार्यालय हुनुपर्छ’ उनले थपे।
उनले प्रदेश नम्बर २ को सरकार प्राथमिकीकरण तय गरेर नै अघि बढिरहेको स्पष्ट पारे। उनले भने, ‘हामी आफैंले तय गरेका प्राथमिकीकरणलाई सम्बोधन गर्ने हिसाबले अघि बढिरहेका छौं। विकास निर्माणका काम द्रुत गतिमा अघि बढाएका छौं। रोड कनेक्टिभिटीमा जोड दिएका छौं। सामान्य जनताको पहुँमा बाटोघाटो पुर्याउने लक्ष्यसहित काम गरिरहेका छौं।’ उनले रोड कनेक्टिभिटीअन्तर्गत पालिकादेखि पालिकासम्म सडकको पहुँच बनाउने, पालिकादेखि सदरमुकामसम्म र ती बाटाहरु राजमार्गसम्म जोड्नेगरि काम गरिएको स्पष्ट पारे।
जहाँ सडक त्यहाँ विकास भन्ने मान्यता रहेकोले आफूहरु पनि सोही भावनाका साथ अघि बढिरहेको उनको भनाई छ । नभएका ठाउँमा सडक बनाउने र भएका सडकहरुको स्तरोन्नती गर्नेगरि आफूहरुले काम गरिरहेको मन्त्री सोनलको भनाई छ । उनले भने, ‘२ नम्बर प्रदेशको कृषिको उत्पादनले यो प्रदेशमा मात्रै नभएर पुरै देशलाई धान्न सक्छ। तर, कृषिको प्रथम शर्त भनेको सिँचाइ हो।’ डिप बोरिङको माध्यमबाट पनि सिँचाइ गरिने उनले जनाए।
२ नम्बर प्रदेश पर्यटन हिसाबले पनि सवल र सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै उनले धार्मिक पर्यटनलाई बढावा दिनेगरि काम गरिएको स्पष्ट पारे। उनले भने, ‘जानकी मन्दिरको कुरा गर्नुहोस्, बाराको गढीमाई, सप्तरीको सखडादेवी, सिरहाको सलहेश, महोत्तरीको परौल नै किन नहोस्, हामीसँग धार्मिक महत्व बोकेका पर्यटकीय स्थलहरु छन्।’
पूर्वाधार विकास मात्रै नभएर उनले मानवीय विकासको लागि पनि प्रदेश सरकार प्रभावकारी रुपमा अघि बढिरहेको स्पष्ट पारे। उनले भने, ‘महिलाहरुको शिक्षाका लागि पनि हामीले काम गरिरहेका छौं। मानव सूचकांक विकासमा हाम्रो प्रदेशको अवस्था तल छ। यसको लागि शिक्षा, स्वास्थ्य र सामाजिक चेतना अभिवृद्धि गर्नुपर्छ। हामीले अहिले यसका लागि पनि अभियान बनाएर काम सुरु गरेका छौं। तराई मधेशमा दाइजो प्रथा छ। यसलाई हटाउनुपर्छ। अहिले हामीले बेटी बचाउ, बेटी पढाउन अभियान पनि चलाएका छौं।’



लाेकपाटी न्यूज

