नेकपा स्थायी समिति बैठक, आज के भयो ? 

Nekapa_Sthayi samiti
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक भोली पुन बस्ने गरी सकिएको छ। आइतबार देखि सुरु भएको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ११ पृष्ठ लामो प्रतिवेदनमाथि छलफल भइरहेको छ। स्थायी समिति बैठकको तेस्रो दिन आज १३ जना सदस्यहरुले छलफलमा भाग लिएका छन्।

राजनीतिक र विधान संशोधनबारेका प्रस्तावबारे आमन्त्रित सदस्यद्वय नन्दकुमार प्रसाई र विष्णुपुकार श्रेष्ठसहित सुरेन्द्र पाण्डे, अमृत बोहोरा, बेदुराम भुषाल, शंकर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, लेखराज भट्ट, घनश्याम भुषाल शक्ति बस्नेत मणि थापा र जनार्दन शर्माले छलफलमा भाग लिएका छन्।

छलफलमा सहभागी स्थायी समिति सदस्यहरुले अध्यक्ष र महासचिवले प्रस्तुत गरेका दुवै प्रतिवेदन सकारात्मक रहेको उल्लेख गर्दै केही सुझावहरु समेत पेश गरेका छन्। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केही विषयहरुमा बैठकपछि पनि छलफल गर्नुपर्ने धारणा आएको बताए। आइतबार र सोमबार २ दिनका लागि बोलाइएको बैठकमा सदस्यहरुले बोल्ने क्रम नसकिएपछि लम्बिएको छ।

आइतबारबाट सुरु भएको बैठकमा प्रतिवेनमाथि सोमबारबाट मात्रै छलफल सुरु भएको हो। प्रतिवेदनमाथि सोमबार १२ जना सदस्यले टिप्पणी गरेका थिए भने मंगलबार १३ गरी २५ जनाले आफ्नो धारणा राखेका छन्। ४५ सदस्यीय नेकपाको स्थायी समितिमा अझै २० जनाले बोल्न बाँकी छ। अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए। बैठकमा बोल्ने धेरैजसो सदस्यहरुले पार्टी र सरकार सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्।