नीरज पिठाकोटे /वीरगञ्ज, १ पुस। पर्साको पोखरिया नगरपालिकामा सोमबार राति आश्चार्यजनक रुपमा आगलागीको घटना भएको छ। राति करिब ९ बजेदेखि पोखरिया नगरपालिकाको सतवरिया लगायत विभिन्न ११ स्थानमा एकैपटक आगलागी भएको छ। आगलागीबाट मानवीय क्षति हुनबाट भने टरेको छ।
परालको कुन्यु, मन्दिरमा बस्ने बाबाको झुपडी तथा साना टहरा लगायत विभिन्न ११ ठाउँमा एकै पटक आगलागी हुँदा पोखरियावासी आश्चार्य चकित भएका छन्। यो घटनाले उनीहरु त्रसित पनि भएका छन्। आगलागी मध्यराति १२ बजे पोखरिया नगरपालिकाको दमकल, वीरगन्ज महानगरपालिकाको दमकलको प्रयोग गरी स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको थियो। आगलागी कसरी भयो भन्ने विषय भने अझै रहस्यमय नै छ।
पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारका अनुसार राति करिब ९ बजे आगलागीको घटनाको जानकारी आएको र घटनास्थलमा पुगेर बुझ्दै गर्दा फेरी अर्को स्थानमा पनि आगलागी भयो भन्ने खबरले रातभर दौडधुप भयो । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहका अनुसार पहिलो पटक आगो शुरु हुनअघि एउटा मोटरसाईकलमा दुईजना भागेको देखेको स्थानीयले देखेको बताएका थिए। उनीहरुले नै आगो लगाएको हो कि भन्ने अनुमान लगाउन सकिने प्रहरी निरीक्षक सिंहले बताए।
धान भित्रयाउने सिजन भएकोले सडकको छेउको ठाउँ ठाउँमा राखिएको परालको थुप्रोमा आगो लागेको र पोखरियाको वडा नम्बर ४ मा रहेको प्रेम रामको पान पसलमा पनि आगो लागेको प्रहरी निरीक्षक सिंहको भनाई छ। परालमा लागेको आगोबाट पराल बाहेक अन्य क्षति नभएपनि पान पसलमा भने एकदेखि डेढलाख सम्मको क्षति भएको हुनसक्ने अनुमान प्रहरीको छ।
आश्चार्यजनक रुपमा भएको आगलागीको घटनाबाट पोखरियावासी निकै चिन्तामा रहेको पोखरिया नगरपालिकाका मेयर रौनियारले बताए। यसअघि २०७२ सालमा पोखरियाकै सतवरियाको एकै वडामा अज्ञात रोगबाट २६ जनाको मृत्यु भएको घटनालाई आश्चार्यजनक रुपमा भएको आगलागीको घटनाले फेरि स्मरण गराइदिएको छ।



लाेकपाटी न्यूज
