नेकपा नेपाली कांग्रेसकै समाजवादमा आयो : डा. रामशरण महत

ramsaran-mahat
लाेकपाटी न्यूज

बागलुङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले कांग्रेस पार्टी गुटबन्दीको अन्त्य गरी एक भएर चल्नुपर्ने बताएका छन्। उनले पार्टीका शीर्ष नेताहरु गुटबन्दीमा लागेकोमा चिन्ता प्रकट गर्दै कांग्रेस शक्तिशाली बन्ने सम्भावना कमजोर भएको बताएका छन्।

नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता महतले पछिल्लो समयमा पार्टीभित्र गुट उपगुटको खेती झनै मौलाउँदै गएको हुँदा यसको अन्त्यका लागि तल्लो तहबाट दबाब सिर्जना गर्नुपर्ने बताए। उनले शीर्ष नेताहरुका कारण पछिल्लो पुस्तासम्म गुटको प्रभाव परेको हुँदा यसको अन्त्य गरेर एक भएर अगाडि बढनुपर्ने बताए।

उनले नेतृत्वबीच छलफल भएको १४ महाधिवेशनको मुद्धालाई सहमतिले निर्णय गरेर सभापति अगाडि बढ्नुपर्ने बताएका छन्। ‘सहमति गरेर समयावधि बढाऔं’ नेता महतले भने, ‘नेतृत्वले सबैको कुरा सुन्नुपर्दछ, हामी विपक्षसँग लड्ने हो, आफू–आफू त सहमति बनाएर अगाडि बढ्ने हो। उनले समायवधि सकिएका भातृ एवं शुभेच्छुक संस्थाको यथाशिघ्र अधिवेशनको बाटोमा जानुपर्ने बताए।

पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले कांग्रेसको ल्याएको बलियो अर्थनीतिको सिद्धान्तले राज्य बलियो भएको दावी गरे। ‘हामीले खुल्ला अर्थनीतिको सिद्धान्त ल्यायौं’ डा. महतले भने, ‘यही सिद्धान्तलाई अहिलेको सरकारले पनि आत्मसाथ गरेको छ। कांग्रेसले बोकेको राजनीतिक विचारमा सबै आउन बाध्य भएका छन्।’ उनले कांग्रेसले खोजेको समाजवादको पक्षमा सरकार विस्तारै लाइनमा आएको बताए।

नेता महतले पछिल्लो समयमा सरकारले लगाएको करको विषयमा बोल्दै भने, ‘करको सुरुवाती कांग्रेसकै सरकारका पालामा भएको हो। ऊ बेला कम्युनिष्टका साथीहरु चोकचोकमा हाम्रो पुत्ला दलन गर्न हिड्नुभयो। तर, अहिले सरकारले त्यही हरेक क्षेत्रमा लगाउने करमा बृद्धि गरेको छ, खै जनताको पक्षमा बोलेको ? यदी जनताको पक्षमा बोल्ने हो र कर महंगो भएको हो भने अहिले पनि पुत्ला दलन गर्नुपर्‍यो नि। आफ्ना पालामा जे भए पनि राम्रो अरुका पालामा भएकोलाई नराम्रो ठान्ने प्रवृत्तिले देश कसरी माथि जान्छ ?’

कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापाले कांग्रेस मुलूकको लोकतन्त्रको रक्षा गरेको पार्टी भएको हुँदा आफ्नो संगठन बलियो बनाएर लैजानुपर्ने बताए। उनले सरकारका कामप्रति जनता आजित भएको हुँदा आउँदा दिनमा पुन कांग्रेसलाई नै देश समाल्ने अवसर मिल्ने बताए।