काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज पनि बस्दैछ। आइतबारबाट सुरु भएको बैठक सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजेदेखि सुरु हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रस्तुत गरिएको पाँच एजेण्डामा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल-भारत सीमा समस्याको समाधान र विविध प्रस्तुत भई सामान्य छलफलपश्चात स्थायी कमिटीको बैठकको एजेण्डाका रुपमा स्वीकार गरिएको छ।
प्रवक्ता श्रेष्ठका अनुसार सोमबार बस्ने बैठकमा पनि सोहि एजेण्डामा छलफल हुनेछ। प्रधानमन्त्रीसमेत रहेका नेकपाका केपी शर्मा ओली र प्रचण्डको हस्ताक्षरसहित पेश गरिएको प्रतिवेदनमा आगामी कार्ययोजनादेखि २०७७ सालमा पार्टीको महाअधिवेशन गर्नेसम्मका विषय समावेश गरिएको छ।



लाेकपाटी न्यूज

