विवाद मिलाउन सिंह निवासमा छलफल सुरु

80330872_581407932405292_1256600275670532096_n
लाेकपाटी न्यूज

काठमाडौं, ३० मंसीर। नेपाली कांग्रेसभित्र देखिएको विवाद मिलाउन कांग्रेसका दोस्रो तहका नेताहरु सक्रिय भएका छन्। सभापति देउवाले महाधिवेशनको मिति धकेल्दै केन्द्रीय विभागहरु गठन गर्ने प्रस्ताव केन्द्रीय समितिमा लगेपछि कांग्रेसमा विवाद देखिएको हो।

सभापति देउवाले महाधिवेशन टार्ने मनसायका साथ संख्या बढाएर विभाग गठन गर्न लागेको कांग्रेसमा पौडेल पक्ष र सिटौला पक्षको आरोप छ। त्यही विवादका कारण शनिबारबाट बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले बहिस्कार गरेका थिए। विवाद समाधानका लागि आइतबार बिहान सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भए पनि ठोस सहमति हुन सकेन।

सहमति हुन नसकेपछि आइतबार पनि पौडेल र सिटौला पक्षले बैठकमा उपस्थित नहुने निर्णय गरेका थिए। शीर्ष तहका नेताहरुबीच चर्को विवादका बीच दोस्रो तहका नेताहरु भने विवाद समाधानका विभिन्न उपायहरु खोज्दै छलफलमा जुटेका छन्। विवाद समाधानका उपायहरुबारे छलफल गर्न कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा छलफल सुरु भएको नेविसंघका नेता युपी लामिछानेले जानकारी दिए।

लामिछानेका अनुसार सोमबार बिहान सिंह निवासमा सुरु भएको छलफलमा नेता सिंह, उपसभापति बिमलेन्द्र निधि, केन्द्रीय सदस्य हृदयराम धामी र नेता दिलेन्द्रप्रसाद बडु सहभागी छन्। संस्थापन र संस्थापन इतरका दोस्रो तहका नेताहरुको बैठकले कांग्रेसमा देखिएको आन्तरिक विवाद समाधानको प्रयास गर्ने बताइएको छ।