एजेन्सी। बिहेका लागि केटा केटीको मन मिल्नु पर्यो। परम्परागत बिहेमा घर परिवारको पनि स्वीकृती अनिवार्य हुन्छ।
यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियमदुनियाँमा कतै सुनिएको थिएन। तर अब इण्डोनेसियामा बिहे गर्नका लागि ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ। मिडिया रिपोर्ट अनुसार इण्डोनेसिया सरकारले आगामी वर्ष सन् २०२० देखि प्री-वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाएको छ ।
इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा यो पाठ्यक्रम तयार पारेका हुन्। उक्त पाठ्यक्रममा युवाहरुलाई जीवनमा बिहे पश्चात् आउने परिवर्तनका विषयमा सचेतना प्रदान गरिनेछ। ताकि वैवाहिक जीवनका समस्याहरुलाई सहजै हल गर्न सकियोस् र दाम्पत्य जीवनका समस्याकै कारण सम्बन्ध नटुटोस्।
साथै बिहेलाई कसरी सफल बनाउने र बालबच्चा कसरी हुर्काउने भन्ने कुरा पनि उक्त पाठ्यक्रममा सिकाइनेछ। यो कोर्स ३ महिनाको हुनेछ। यो पढाई पूरा नगरीकन कुनै पनि युवा बिहेका लागि योग्य हुने छैन। अर्थात् जसले यो पाठ्यक्रमको पढाई पास गर्नेछ, उसले मात्र बिहे गर्न पाउनेछ।



लाेकपाटी न्यूज

