प्रेस काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

Talabandhi
लाेकपाटी न्यूज

काठमाडौं, २७ मंसिर । पत्रकारले प्रेस काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन्। काउन्सिलले जारी गरेको पत्रपत्रिका वर्गीकरणको नतिजा पूर्वाग्रही भएको भन्दै आन्दोलनमा उत्रिएका पत्रकारले काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

नतिजा पुनरावलोकनको माग गर्दै आन्दोलनमा उत्रिएका पत्रकारले काउन्सिलले माग पूरा गर्ने विषयमा कुनै चासो नदेखाएपछि तालाबन्दी गर्न बाध्य हुनुपरेको बताएका छन्। तालाबन्दी गर्ने समयमा काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ कार्यालयमा उपस्थित थिएनन्।

पत्रकारहरु संयुक्त सङ्घर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका छन्।सङ्घर्ष समिति, काठमाडौँ, ललितपुर र भक्तपुर शाखाले आन्दोलनको अगुवाइ गरेका छन्। पत्रकारले शुक्रबार काउन्सिलको मूलगेटमा एक घण्टा धर्नासमेत दिएका थिए।

धर्नालाई सम्बोधन गर्दै पत्रकार महासङ्घका केन्द्रीय सचिव रामप्रसाद दाहालले सङ्घर्ष समति र शाखाहरुको अगुवाइमा भएको आन्दोलनलाई सुनुवाइ नगरे महासङ्घ केन्द्रले नै आन्दोलनको नेतृत्व गर्ने बताए। पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य रामहरि सिलवालले प्रेस काउन्सिलका पदाधिकारी भगवण्डाका आधारमा अघि बढेकाले समस्या सिर्जना भएको बताए।

पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव सिर्जन झाले पहुँच, प्रभाव र दबाबका भरमा पत्रिका वर्गीकरण गर्ने गरिएको बताए। पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले लोकतन्त्र र गणतन्त्रको पक्षमा रगत, पसिना बगाएका मिडियाको विकासमा सरकार गम्भीर बन्नुपर्ने बताए। उनले प्रेस काउन्सिलका गतिविधि अपारदर्शी भएकै कारण सरकारले मिडिया काउन्सिलको अवधारण ल्याएको टिप्पणी गरे ।

पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शान्तराम बिडारीले चौथो चरणको कार्यक्रमअन्तर्गत धर्ना र तालाबन्दी गरिएको भन्दै आन्दोलनप्रति पत्रकारिता जगतबाट समर्थन बढिरहेको बताए। काउन्सिलले यथाशीघ्र माग पूरा नगरे आन्दोलनका कार्यक्रमलाई चर्काउने बताए। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्