जुम्लाका २१ गाउँ छोईगोठ मुक्त

लाेकपाटी न्यूज

उपेन्द्र न्यौपाने\ सिञ्जा, २६ मंसिर । जुम्लामा अहिले सम्म २१ वटा गाउँ बस्तीहरु छुईगोठ मुक्त घोषणा भएका छन्। जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेको चेतना अभिवृद्धिका कारण २१ वटा गाउँबस्तीहरु छुईगोठ मुक्त घोषणा हुने क्रम बढ्दै जान थालेको छ।

बुधबार गैरसरकारी संस्था सर्वोदय नेपाल जुम्लाले पत्रकार सम्मेलन गरी अहिलेसम्म जुम्लाका २१ वटा गाउँ बस्तीहरु छुईगोठ मुक्त घोषणा भइसकेको जानकारी गराएको हो। २१ वटा गाउँ बस्तीहरुका १ हजार ७ सय ४० वटा घरधुरी संख्या छुईगोठ मुक्त घोषणा भएको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले बताए। ८ हजार ७ सय ८९ जनसंख्याले छुई नमान्ने गरेको उनको भनाइ छ।

सर्वोदय नेपाल, किर्डाक नेपाल जुम्ला, आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला, एक्सन वक्स जुम्ला लगायतका संघ संस्थाहरुको साझेदारीमा र विभिन्न स्थानीय तहहरुको आयोजनामा छुईगोठ मुक्त घोषणा भएका हुन्। तातोपानी गाउँपालिकाको १, ४, ५ र ६ नम्वर वडाहरु छुईगोठ मुक्त घोषणा भएका हुन्। जसमा श्रीनगर र नगर, हियाखोला, सार्किबाडा, जयतपुर बाईराँका, तिला गाउँपालिकाको ५, ४, ८ र ३ भित्रका डुग्री, ढिमकोट, चुलाकोट, थापागाउँ, रावतवाडा, जोगीबाडा, पुरु, दानीवाडा, कठायतबाडा, सार्किवाडा र हितानवाडा भएका छन्।

पातारासी गाउँपालिकाको ५ र ४ वडा अन्र्तगतका तली लोेर्प, माथि लोर्प, लुम र भोडगाउँ छाउगोड मुक्त भएको कमलराज खत्रीले बताए। हिमा गाउँपालिकाको महावैपाथरखोला र कोइेरेली लगायतका २ वटा गाउँ बस्तीहरु छुईगोठ मुक्त घोषणा भएको बताइएको छ।

सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले विगतका घोषणालाई प्रभावकारी कार्यान्वयनका लागि सबै निकायले निगरानी गर्न आग्रह गरे। छाउँगोठ घोषणा अभियानलाई व्यवहारिक बनाउन अझै साथ सहयोग रहने उनको भनाइ छ। उनले, महिला माथिको अत्याचार अन्त्यका लागि स्वयम महिलाहरु नै एकजुट भएकाले विस्तारै जुम्लामा छुईप्रथा न्यूनिकरण हुँदै जाने उल्लेख गरे।

लैगिंक समानता, महिलाको कार्यबोझ न्यूनिकरण र महिलामा भएको विभेद छाउँपडी प्रथा न्यूनिकरण विषयमा सर्वोदय नेपाल जुम्लाले काम गर्दै आएको छ। घरदैलो, सामूहिक प्रतिवद्धता, हस्ताक्षर, वडापालिका र गाउँपालिका स्तरीय समन्वयात्मक बैठक र अनुगमनको प्रतिवेदनका आधारमा छुईगोठ घोषणा कार्यक्रम गरिएको बताइएको छ।

५ वर्ष देखि ईटालियन फाउन्डेसन र सर्वोदय नेपाल ललितपुरको आर्थिक सहयोगमा यस संस्थाले महिला शसक्तिकरण तथा जिविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गरी रहेको निर्देशक खत्रीले बताए। महिलाको वृद्धि र विकासका लागि बाधक मानिने परम्परागत प्रथा छाउपडी विरुद्ध विगतदेखि अभियान चलाई हालसम्म विभिन्न जुम्लाका २१ वटा गाउँ बस्तीहरु छुईगोठ मुक्त घोषणा भइसकेको उनले जानकारी गराए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्