काठमाडौं, २४ मंसिर । सरकारले नयाँ भूमि विधेयक बनाउनका निम्ती छलफल प्रक्रियाको थालनी गरेको छ। गुठिसहितको नयाँ एकीकृत भूमि विधेयक ल्याउनका निम्ती भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले आज गुठीसँग सम्बन्धित सरोकारवाला, विज्ञहरूसँग छलफल गरेको हो।
मन्त्रालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सरोकारावा, विज्ञहरूको सुझाव लिएको हो। त्यस अवसरमा सरोकारावालाहरूले गुठीको भावना नमर्ने गरी गुठी विधेयक ल्याउन आग्रह गरेका थिए।
त्यस अवसरमा सरोकारवाला र विज्ञको सुझाव सुनेपछि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब आउने भूमि विधेयक सरकार, सरोकारवाला र गुठियारबीचको सहमतिको साझा दस्ताबेज हुने बताइन्। स्थान, क्षेत्र, ठाउँ विशेषअनुसार गुठीको पनि फरक-फरक विशेषता र समस्या रहेको भन्दै मन्त्री अर्यालले सबैको सुझावको सम्मान गरिने बताइन्।
’सबैको सुझावको सम्मान गर्छौं। अब आउने गुठी कानून गुठियारा र सरोकारवालाहरूले चाहेकै कानून हुनेछ’, मन्त्री अर्यालले भनिन्, ’सरकार सरोकारवाला र गुठियाराको सहमतिको दस्तावेजका रुपमा अबको गुठी सम्बन्धी कानून आँउछ। यसमा सबै सरोकारवाला, विज्ञहरूको सुझाव समेटिन्छ ।’ मन्त्री अर्यालले विभिन्न चरणमा छलफल गरिसकेपछि सार्वजनिक सूचना माग गरेरसमेत गुठी विधेयकका निम्ती सुझाव माग गरिने बताइन्।



लाेकपाटी न्यूज

