प्रहरीको गोली लागेर दुई विद्यार्थी घाइते

kohalpur
लाेकपाटी न्यूज

काठमाडौं। ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर कोहलपुरमा दुई विद्यार्थी घाइते भएका छन्।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायका अनुसार दुई जना छात्रहरूको घुँडामूनि गोली लागेको छ। उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको उपाध्यायले जानकारी दिए।

उनका अनुसार ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। ‘हेलिकप्टर फर्किएर आएर थप दुई जनालाई पनि काठमाडौं लैजाने तयारी छ,’ उपाध्यायले भने।

आइताबार दिउँसो तीन बजेदेखि कर्फ्यू लगाएपछि कोहलपुरको अवस्था शान्त भएको उनले बताए। कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागू हुनेगरी कर्फ्यू लगाइएको छ। बिहान १० बजेदेखि दिउँसो तीनबजेसम्म भएको झडपमा परी झन्डै ४० जना घाइते भएका थिए।

कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीसहित १ दर्जन प्रहरी र २६ जना प्रदर्शनकारी घाइते भएका छन्। ‘झन्डै ४० जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ उपाध्यायले भने। घाइते भएकाहरूमध्ये प्रहरीलाई ढुंगामुढाबाट चोट लागेको छ भने प्रदर्शनकारीलाई रबरको गोली पनि लागेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्