सीमा रक्षाका निम्ति तीन करोड नेपाली जाग्नुपर्छ : नेता बस्नेत

surendra basnet
लाेकपाटी न्यूज

काठमाडौं, २१ मंसिर। सत्तारुढ नेकपा निकट अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले सीमा रक्षाका निम्ति तीन करोड नेपालीलाई एक ढिक्का भएर जाग्न आह्वान गरेका छन्। बस्नेतले सीमा रक्षाका लागि सरकारसँगै जनता पनि जुर्मुराउनुपर्नेमा जोड दिए।

शनिबार राजधानीको कान्तिपुर सिटी कलेजमा आयोजित स्वागत कार्यक्रममा बोल्दै बस्नेतले भने,‘ सरकारले कुटनैतिक पहलकदमी गरिरहेको छ, तर भारतीय शासकहरु कानमा तेल हालेर बसेका छन्।’ विद्यार्थी नेता बस्नेतले भने, ‘त्यसैले एकपटक तिन करोड नेपाली जुरुक्क उठेर भारतीय शासकहरुलाई सन्देश दिन जरुरी छ।’

नेता बस्नेतले सीमा रक्षाका निम्ति आवश्यक परे जस्तोसुकै मुल्य चुकाउन पनि तयार हुनुपर्ने बताए। उनले भने,‘ द्विपक्षीय वार्ताबाट समस्या नसुल्झिए अन्तर्रा्ष्ट्रिय समुदाय गुहार्नुपर्छ। त्यसबाट पनि नभए लाखौंलाख जनता सीमा रक्षाका निम्ति उत्रनुपर्दछ।’

विगतमा अनेरास्ववियूले कालापानी मार्च , लिपुलेक मार्च ,सुस्ता बचाऊ अभियान सञ्चालन गरेको स्मरण गर्दै बस्नेतले भने,‘ अनेरास्ववियूले फेरि पनि लाखौंलाख विद्यार्थीका साथ सीमा बचाऊ अभियान चलाउने छ।’ कार्यक्रममा अनेरास्ववियूका नेताहरु संजय काल्धन, वालकुमार केसी , शिक्षा पाण्डे ,टोपेन्द्र खड्का लगायतले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेका थिए।