सहकारी र नीजि क्षेत्र क्रियाशिल नभएसम्म विकासले गति लिँदैन : मन्त्री चौधरी

Nawalparasi
लाेकपाटी न्यूज

रमेश भुसाल/ नवलपरासी, २० मंसिर । प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सहकारीको माध्ययमबाट विकासलाई अगाडि बढाउनु पर्ने बताएका छन्। सहकारी र नीजि क्षेत्र कृयाशिल नभएसम्म विकासले गति लिन नसक्ने भन्दै विकासमा सहकारीको महत्वपूर्ण योगदान रहने बताए।

लुम्विनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीको २१ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री चौधरीले सहकारीको माध्यमबाट नगदेबाली साथै तरकारीको उत्पादनमा जोड दिन आवश्यक रहेको बताए। तरकारीहरु आलु प्याजमा समेत परनिर्भरता पर्नुपर्ने अवस्था रहेको र त्यसको अन्त्यका लागि सुनवलमा बन्दै गरेको शित भण्डारणले यस क्षेत्रलाई नै महत्व राख्ने उनको भनाइ थियो।

त्यस्तै प्रदेश सभा सदस्य भगवती भण्डारीले सहकारी लगायत अन्य क्षेत्रमा महिलाहरुको अग्रणी भुमिका रहनुपर्ने औंल्याउदै अहिलेको समयमा पनि महिला हिंसा रहनु दुःखद रहेको बताइन्। महिलाले केहि गर्न सक्दैनन् भन्ने भावनाको अन्त्यको लागि सहकारीबाटै एकजुट हुर्ने पर्नेमा संसद भण्डारीले जोड दिइन्।

सोही अवसरमा सुनवल नगरपालिकाका उपप्रमूख ददिराम अर्यालले सहकारी आर्थिक विकासको लागि मेरुदण्डका रुपमा रहेको बताए।सहकारीहरुलाई एकिकरण गरी सशक्त र आर्थिक रुपमा मजवुद गराउनका लागि सुनवल नगरपालिकाले एकिकरण सम्बन्धी गोष्टी सेमिनार गरेको बताए।

स्थापना दिवसको अवसरमा सुनवल नगरपालिका वडा नम्बर १२ का अध्यक्ष यामलाल पाण्डे, राष्ट्रिय सहकारी वोर्ड सदस्य प्रकाश अर्याल, जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेल, मोतिलाल क्याम्पसका अध्यक्ष नारायणप्रसाद तिवारी लगायतले सहकारीको स्थापना दिवसको अवसरमा शुभकामना मनतव्य राखेका थिए।

लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अहिले ३५ सय ८४ जना शेयर सदस्य रहको कार्यक्रमका अध्यक्ष तथा लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लेखनाथ खरेलले बताए। संस्थामा शेयर पुँजी, कुल कोष पुँजी, बचत र कुल ऋण लगानी गरी ४५ करोड २३ लाख ९८ हजार ७० रुपैयां पुजी निर्माण गर्न सफल भएको कार्यक्रमका अध्यक्ष खरेलले बताए।

त्यस्तै केही समय भित्रै सुनवल नगरपालिका वडा नम्वर ४ मा रहेको सुनवल वहुउद्देश्य सहकारी संस्थासँग एकिकरण गरी बृहत संस्था बनाउने सोचका साथ अगाडि वढेको समेत अध्यक्ष खरेलले जानकारी दिए। कार्यक्रममा सास्ंकृतिक कार्यक्रमसमेत भएको थियो। कार्यक्रममा लोक तथा दोहोरी गायक भरत क्षेत्री र प्रिया भण्डारीको बेजोड प्रस्तुति रहेको थियो।

कार्यक्रममा समाजसेवी, बुद्धिजीवि, सञ्चारकर्मी, शेयर सदस्यहरु लागायतको बाक्ले उपस्थिति रहेको थियो।संस्थाका उपाध्यक्ष विष्णुप्रसाद अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव भुवनेश्वर प्रसाद चौधरीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्