डुङ्गा दुर्घटना हुँदा ५८ को मृत्यु

dungaga
लाेकपाटी न्यूज

सेनेगल, १९ मंसिर। अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासीहरु चढेको डुङ्गा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटनाग्रस्त हुँदा ५८ जनाको मृत्यु भएको छ। गाम्बियाबाट एक साताअघि हिँडेको उक्त डुङ्गामा कम्तीमा १५० जना यात्रु रहेको अनुमान गरिएको छ।

यस डुङ्गामा महिला र बालबालिका पनि सवार थिए। यो डुङ्गा मौरिटानियाको तटीय इलाका केनरी द्वीपतर्फ आवश्यक इन्धन र खाद्यान्नका लागि आउँदै गरेको अवस्थामा दुर्घटनाग्रस्त भएको पश्चिम अफ्रिकाका लागि राष्ट्रसंघका एक अधिकारी लाउरा लुंगारोटीले बताए।

उनले डुङ्गामा सवार धेरै जना समुद्रमै डुबेका र बाँच्न सफल भएकाहरु एटलान्टिक महासागरमा पौडिएर मौरिटानियाको तटीय शहर नौडिबाउमा आएको जानकारी दिए। कम्तीमा ८३ जना आप्रवासीहरु पौडिएर तटीय इलाकामा निस्कन सफल भएका जनाइएको छ। घाइतेहरुलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ।

पौडिएर बाँच्न सफल भएकाहरुले आफूहरु गत नोभेम्बर २७ मा गाम्बियाबाट हिँडेको बताएका छन्। यस सम्बन्धमा गाम्बिया सरकारले केही बताएको छैन। हालैका वर्षहरुमा युरोप प्रवेश गर्ने लालसामा गाम्बियाका दशौं हजार नागरिक समुद्रको कठिन यात्रामा निस्कने गरेका छन्।