काठमाडौं, १९ मंसिर । खानेपानी मन्त्री बिना मगरले सुरुङबाट आउने मेलम्चीको पानी प्रशोधन गर्नका लागि काम भइरहेको सुन्दरीजलस्थित प्रशोधन केन्द्रको बिहीबार निरीक्षण गरेकी छिन्। खानेपानी मन्त्री मगरको नेतृत्वमा मन्त्रालयका सचिव माधव बेल्बासे, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्री र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक मिलन शाक्य लगायतको टोलीले प्रशोधन केन्द्रको निरीक्षण गरेको हो।
पानी प्रशोधन केन्द्रको निरीक्षणसँगै मन्त्री मगरले सुन्दरीजलस्थित सुरुङको समेत निरीक्षण गरिन्। दोस्रो प्रशोधन केन्द्रको कामलाई तीव्र गतिमा समयमै सम्पन्न गर्न मन्त्री मगरले विभागीय प्रमूखहरुलाई निर्देशन दिइन्। उनले अब केही समयमै दोस्रो प्रशोधन केन्द्रको काम सकिने जानकारी दिइन्।
सुन्दरीजलमा बनिरहेको दुईवटा प्रशोधन केन्द्रमा एउटाको काम सम्पन्न भइसकेको छ भने अर्को प्रशोधन केन्द्रको काम करिव करिव सकिन लागेको छ। मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी मध्ये साढे ८ करोड लिटरका दुईवटा प्रशोधन केन्द्र सुन्दरीजलमा बनेका छन्। मेलम्चीको पानी काठमाडौंमा वितरण गर्नुअघि सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधन गरेर मात्र पठाइनेछ ।
सम्पन्न हुन बाँकी रहेको पानी प्रशोधन केन्द्रको काम आउँदो पुस महिनामा सकिने मेलम्ची विकास समितिले जनाएको छ। एउटा प्रशोधन केन्द्रको निर्माण भने यसअघि नै सकिएर सञ्चालनमा आइसकेको छ।
प्रशोधन केन्द्रको निर्माण जाइकाले दिएको ५ अर्ब ७ करोड ८० लाख रुपैयाँको ऋण सहयोगमा बनाइएकोे हो। पहिलो प्रशोधन केन्द्रको काम दुई वर्षअघि नै सकिएको थियो ।सुरुङ मार्गपछि प्रशोधन केन्द्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुख्य संरचना हो।
उक्त केन्द्रबाट पानी प्रशोधन गरेर उपत्यकाका ६ स्थानमा निर्माण गरिएका पोखरीमा पानी जम्मा गरिनेछ। त्यसपछि वितरण पाइपबाट घरघरमा पानी पु¥याइनेछ। तर, मेलम्चीबाट प्रत्येक दिन दैनिक १७ करोड लिटर पानी प्रशोधन केन्द्रमा जम्मा हुनेछ।
यस केन्द्रबाट प्रशोधित पानी शुद्ध खानेपानी मापदण्ड अनुसारकै हुनेछ। मेलम्ची खोलाको डाईभर्सन स्किम र वितरण प्रणालीको बिचमा यो प्रशोधन केन्द्र अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको छ। यसमा कोगुलेसन सेडिमेन्टेसन प्रक्रियासहितको तीव्र बालुवा फिल्ट्रेसन प्रणालीको उपयोग गरिएको छ।
यस प्रणालीमा यान्त्रिक उपकरण र रसायनको ग्य्राभिटी फिडको आवश्यकता पर्दछ। यस केन्द्रमा २०० किलोवाटको लघु जलविद्युत प्लान्ट पनि रहेको छ जसको माध्यमबाट यो केन्द्र स्वसञ्चालित हुनसक्छ। सम्पन्न भइसकेको प्रशोधन केन्द्रबाट प्रति दिन ८ करोड ५० लाख लिटर पानी प्रशोधन भइरहेको छ।
दुईवटा प्रशोधन केन्द्रपछि सुरुङ मार्ग हुँदै आउने याङग्री र लार्के खोलाको गरी दैनिक ३४ करोड लिटर पानी प्रशोधन गर्नका लागि उक्त ठाउँमा अर्को प्रशोधन केन्द्रसमेत निर्माण हुने मेलम्ची समितिका कार्यकारी निर्देशक खत्रीले बताए। सुरुङ हुँदै आउने दैनिक ५१ करोड लिटर पानी प्रशोधन गर्न सुन्दरीजलमा प्रशोधन केन्द्र बनाइएको हो।



लाेकपाटी न्यूज

