काठमाडौं। नेपाल प्रहरीका डिएसपी कुमोध ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको प्रहरीले पुष्टि गरेको छ।
उनलाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको थियो। लुटपाट तथा डकैती गरेको अभियोगमा पक्राउ परेका व्यक्तिले डिएसपी ढुंगेलको नाम लिएका थिए। गत चैत २६ गते रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डिएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो।
डकैत तथा लुटपाट घटनाका अभियुक्तले घटना गराएको दिन ढुंगेललाई भेटेको बयान दिएका थिए। गत चैत २६ गते काठमाडौं-२९ स्थित रानीबारीमा भएको लुटपाट घटनामा पक्राउ परेका विक्रम श्रेष्ठले घटना गराएकै दिन डिएसपी ढुंगेललाई महाराजगञ्जको भेनस रेस्टुरेन्टमा भेटेको बयान दिएका थिए।
चन्द्रागिरी नगरपालिका-८ का ३६ वर्षीय श्रेष्ठ र डिएसपी ढुंगेलबीच घटना गराएको भोलिपल्ट सम्पर्क समेत भएको देखिएको महाशाखाले जनाएको थियो। रानीबारी डकैत तथा लुटपाट घटनामा संलग्न भएको भन्दै श्रेष्ठसहित तीन जनालाई अपराध महाशाखाको टोलीले वैशाख ६ गते पक्राउ गरेको थियो।
पक्राउ पर्ने अन्य चन्द्रागिरी-८ का ३८ वर्षीय नवराज तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका-४ घर भई नैकाप बस्ने २८ वर्षीय सन्तबहादुर तामाङ रहेका छन्। उनीहरूले रानीबारीका लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी शेरचन र मिठु थकालीबाट पाँच लाख ६० हजार बराबरको धनमाल लुटेको महाशाखाले जनाएको छ।
धारिलो हतियार देखाएर हातखुट्टा बाँधेर, मुखमा टेप टाँसी उनीहरूको घरबाट धनमाल लुटिएको महाशाखाले जनाएको छ। उनीहरूविरूद्ध संगठित अपराध र ठकैतीमा मुद्दा चलाइएको छ। डिएसपी ढुंगेल नेपाल प्रहरीमा ‘इन्काउन्टर स्पेसलिस्ट’को रुपमा परिचित छन्।



लाेकपाटी न्यूज

