परीक्षा नै बहिष्कार गरेर आन्दोलनमा विद्यार्थी

pic medical students
लाेकपाटी न्यूज

काठमाडौं, १८ मंसिर। नर्सिङ र प्यारामेडिक्सका स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले आजदेखि शुरु गरेको बिडिएस, विएससी नर्सिङ र प्यारामेडिक्सका स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका हुन्।

चितवनको चितवन मेडिकल कलेज (सिएमसी), भैरहवाको युनिभर्सल मेडिकल कलेज (युसिएमएस) का विद्यार्थीहरुले आजको परीक्षा बहिष्कार गरेका हुन्। मेडिकल शिक्षामा ठगी भएको भन्दै सरकारले तोकेको भन्दा बढी शुल्क लिएका कलेजले शुल्क फिर्ता नगरेसम्म आन्दोलन नरोकिने भन्दै विद्यार्थीहरुले शैक्षिक कार्यक्रम बहिस्कार गरेका हुन्।

बिहान ९ बजेदेखि परीक्षा शुरु गर्दा युसिएमएसका विद्यार्थीहरुले परीक्षा सेन्टर बाहिर पेन डाउन गरेर धर्ना दिएका थिए। यस्तै सिएमसीका विद्यार्थीहरुले पनि परीक्षा बहिष्कार गर्दै आन्दोलनको गरिरहेका छन्। युसिएमएसमा बिडिएस प्रथम वर्षका ४० जना र प्यारामेडिक्सका अन्य विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन्।

आइओएमले भोलिदेखि शुरु हुने भनेको एमबीबीएस प्रथम वर्षको परीक्षामा विरगञ्जको नेशनल मेडिकल कलेज, भैरहवाको युनिभर्सल मेडिकल कलेज र चितवन मेडिकल कलेजले परीक्षा बहिष्कार गर्ने घोषणा गरीसकेको चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता डा. सुजन कडरियाले बताए।

मेडिकल शिक्षामा शुल्कको विषयलाई लिएर मेडिकल विद्यर्थीहरु लामो समयदेखि आन्दोलित छन्। विद्यार्थीको आन्दोलपछि सरकारले मंसिर १० गते मेडिकल कलेज सञ्चालकसँग वार्ता गरी शुल्क फिर्ताको सहमति गरेको थियो।

तर सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सहमतिप्रति आन्दोलनरत विद्यार्थीहरु असन्तुष्ट छन्। विद्यार्थीहरुले सरकारसँग गरेको सहमतिले सबै मेडिकल विद्यार्थीको शुल्क फिर्ता नहुने र बढी लिएको शुल्क पूर्ण रुपमा फिर्ता नहुने भन्दै विद्यार्थीहरुले आन्दोलनलाई जारी राखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्