प्राधिकरण व्यवस्थापनद्वारा विद्युत वितरण केन्द्र प्रमूखसँग कार्यसम्पादन सम्झौता

samjhauta
लाेकपाटी न्यूज

मकवानपुर, १८ मंसिर। नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले प्रदेश नम्बर ३ को प्रदेश डिभिजन कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमूखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ। विद्युत चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई प्राधिकरण व्यवस्थापनले आज प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत रहेका ६ वितरण केन्द्र प्रमूखसँग कार्यसम्पादन सम्झौता गरेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग डिभिजन कार्यालय प्रमूख केदारराज सिलवालले कार्यसम्पादन सम्झौता गरेका हुन्। वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमूखहरुले सम्झौता गरे। प्राधिकरण व्यवस्थापनले यसअघि प्रदेश नम्बर १, २ र ३का प्रादेशिक कार्यालयका प्रमूख र कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमूखहरुसँग सम्झौता गरिसकेको छ।

हेटौंडा डिभिजन कार्यालय अन्तर्गत प्रदेश नम्बर ३ का चितवन, मकवानपुर र सिन्धुलीका २ लाख ५० हजार ग्राहक रहेका छन्। डिभिजन कार्यालयको गत आर्थिक वर्ष २०७५र७६मा रहेको ७.३५ प्रतिशतको विद्युत चुहावटलाई ५.७५ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ। चालु आर्थिक वर्ष २०७६र७७को कात्तिकसम्मको विद्युत चुहावट ७.४८ प्रतिशत छ।

कार्यालयअन्तर्गत सबैभन्दा बढी विद्युत् चुहावट चितवनको टाँडी वितरण केन्द्रको छ। केन्द्रको १५.९७ प्रतिशतको चुहावटलाई १२.०५ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कात्तिकसम्ममा केन्द्रको चुहावट १५.९३ प्रतिशत छ ।डिभिजन कार्यालयअन्तर्गत सबैभन्दा कम विद्युत चुहावट मकवानपुरको हेटौडा वितरण केन्द्रको छ। केन्द्रको १.७८ प्रतिशत चुहावटलाई १.७० प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ। कात्तिकसम्ममा केन्द्रको चुहावट ०.५४ प्रतिशत छ।

कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले केन्द्रप्रमूख लगायत सम्पूर्ण कर्मचारीको कामले ऊर्जा मन्त्री, प्रधानमन्त्रीको कार्यसम्पादन देखिने भएकाले आफ्नो क्षेत्रमा शतप्रतिशत विद्युतीकरण र ऊर्जा खपत बढाउन सोहीअनुसार संरचना बनाउन केन्द्रित हुनुपर्ने बताए।

सरकारले तीन वर्षभित्र शत्प्रतिशत विद्युतीकरण गर्ने र पाँच वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत सात सय युनिट पुर्याउने घोषणा गरेको छ। यसलाई कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण भएको घोषणा गरिंदैछ। दिइएको लक्ष्यअनुसार चुहावट घटाउन, आम्दानी बढाउन, विद्युत खपत बढाउन थ्रि फेज मिटर दिने, इन्डक्सन चुलोको प्रगोगलाई प्रोत्साहन गर्ने, प्रसारण, वितरण तथा सबस्टेसनको स्तरोन्नति गर्ने, सामानहरुको पुनःप्रयोग गर्ने, सुशासन कायम गर्ने, स्वयं सुशासित भएर कार्यसम्पादन गर्ने लगायतका निर्देशन घिसिङले दिए।

कार्यालयमा उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्न, सम्झौतामा समेटिएका बुँदालाई कार्यान्वयन गर्न, विद्युत चुहावट नियन्त्रणमा केन्द्रित हुन, विद्युतीय सुरक्षामा ध्यान दिन र ग्राहकलाई गुणस्तरीय सेवा प्रवाह गर्न उपकार्यकारी निर्देशक न्यौपानेले निर्देशन दिए।

वितरण केन्द्रहरुलाई स्रोत र साधन सम्पन्न बनाउन बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले वित्तीय अनुशासनमा रहेर आफ्नो कार्यालयको खर्चमा मितव्ययी बन्न, जथाभावी रुपमा सामान खरिद नगर्न केन्द्र, लेखा र स्टोर प्रमूखहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्