विराटनगर, १५ मंसिर। कृष्णबहादुर गिरी (सिद्धबाबा)लाई पक्राउका लागि विराटनगरको विराट नर्सिङ होम पुगेको प्रहरी खालीहात फर्किएको छ।
आइतबार जबर्जस्त आरोपी सिद्धबाबालाई पक्राउका लागि पुगेको प्रहरी टोली रित्तो हात फर्किएको हो।
आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माको नेतृत्वमा प्रहरी टोली अस्पताल पुगेको थियो।
सिद्धबाबालाई अदालतमा पेस गर्नका लागि दिनभर पर्खिएको प्रहरी टोली करिब तीन बजे सुनसरी फर्किएको हो।
विराट नर्सिङहोमले गिरीलाई हृदयघात भएको बताउँदै आईसीयूयमा भर्ना गरेपछि पक्राउ नगरी फर्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी शर्माले जानकारी दिएका छन्।
आइतबार बिहान आफ्ना सुभचिन्तक र अनुयायीसँग गफ गरिरहेका सिद्धबाबालाई करिब ११ बजे आईसीयूमा भर्ना गरिएको थियो।
उनी आईसीयूको १० नम्बर बेडमा छन्। आफ्नै अनुयायीलाई जबर्जस्त गरेको आरोप लागेका सिद्धबाबालाई अस्पतालबाटै अदालत लैजान भन्दै डीएसपीको नेतृत्वमा प्रहरी टोली आएको थियो।
चिकित्सकले उनलाई हर्ट एट्याक भएकाले बाहिर लान नमिल्ने बताएका थिए। गिरीको उपचारमा संलग्न चिकित्सक डा. ज्ञानेन्द्र गिरीले गरिरहेका छन्।
वरिष्ठ मुटुरोग विषेशज्ञ डा. गिरीले माइनर हर्ट अट्याक बढेपछि आईसीयूमा राखेर उपचार सुरु गरिएको बताए। माइनर हर्ट अट्याक भए पनि जोखिम उच्च भएका कारणले आफूले रिक्स लिन नचाहेको उनले बताए।
‘हर्ट एट्याकका कारण मुटुका चाल बढेपछि आईसीयूमा भर्ना गरिएको छ’ उनले भने ‘यस्तो अवस्थामा चिकित्सकको निगरानी आवश्यक छ।’
गत कात्तिक ४ गते आफूलाई बलात्कार गरेको दाबी गर्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन्।
सिद्धबाबा भने गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए।
उनलाई छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गौलाको पत्थरीले समस्या बनाएको अस्पतालले बताउँदै आएको थियो।
प्रहरीको निगरानीमा उपचार गराइरहेका गिरीले बिहान १० बजेसम्म आफ्ना अनुयायी र शुभचिन्तकसँग भेटघाट गरिरहेका थिए।



लाेकपाटी न्यूज