काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे तथ्यभन्दा पनि अतिरञ्जित कुरा बढि मिडियामा आएको भन्दै गुनासो पोखेका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले मिडियालाई जिम्मेवार र उत्तरादायी पत्रकारिता गर्न आग्रह गरे।
उनले भने, ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सन्तोषप्रद ढंगले तिव्र गतिमा सुधार भएको छ। आज प्रधानमन्त्रीज्यूको निजी चिकित्सक र उहाँको उपचारमा संलग्न आधा दर्जन चिकित्सकहरुले पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी गराउनुभएको छ। उहाँको अहिलेको स्थिति के छ ? भन्नेबारे उहाँहरुले सत्य, तथ्य सार्वजनिक गर्नुभएको छ। अर्को हप्ता उहाँ डिस्चार्ज हुनुहुनेछ।’
साक्षात्कारमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीले एपेन्डिसाईटिसको समस्या आकस्मिक रुपमा भोग्नुभयो। अहिले उहाँ पूर्ण स्वास्थ्य लाभको दिशामा अघि बढ्नुभएको छ। तर, सञ्चारमाध्यमबाट बढो तिलस्वी ढंगले, बढो नयाँ तथ्य प्राप्त गरे जस्तोगरि, बढो खोज गरे जस्तोगरि जे तथ्यहरु आएका छन्, ती सान्दर्भिक छैनन्।’
उनले प्रधानमन्त्री ओली जेलमा हुँदा पनि असाध्यै विरामी भएर निकै जीवन–मरणको दोसाँधबाट त्यो चरण पार गरेर २०४४ सालमा रिहाई भएको स्मरण गराए । थापाले थपे, ‘उहाँको स्वास्थ्य समस्या अकस्मात् रुपमा वा अहिले अस्पताल भर्ना भएर देखापरेको होईन। उहाँले ४०, ४२ वर्षदेखि विभिन्न रोगहरुको सामना गर्दै आउनुभएको छ।
वितेका १२ वर्ष यता त उहाँले मिर्गौला प्रत्यारोपण गरिसकेर यहाँसम्म आईपुग्नुभएको छ। उहाँले किड्नी ट्रान्सप्लान्ट गरेको १२ वर्ष भैसक्यो। यस बीचमा अहिले भर्खरै यो किड्नीको समस्या देखापरेको जस्तोगरि कथा बुन्नुभएन्।’उनले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे कथाहरु बुनिएको भन्दै गुनासो पोखे। उनले भने, ‘कथा त चलचित्रलाई काम लाग्छ। तर, व्यवहारिक जीवनलाई त्यसले काम दिँदैन्।
प्रधानमन्त्रीज्यू अस्पतालमा भर्ना हुनासाथ सिर्जना गरिएका डर र आतंकबाट पनि मिडिया अलि सच्चिनुपर्छ।’ एपेन्डिसाईटिसको शल्यक्रिया सामान्य कुरा भएको बताउँदै उनले यसलाई अतिरञ्जित गर्न नहुने सुझाव दिए।
उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई पनि राति १ बजे पेट दुख्यो। ८ बजे अस्पताल लगियो, १२ बजे त शल्यक्रिया भैसकेको थियो। एपेन्डिसाईटिसको शल्यक्रिया भएको छ तर, मिर्गौला प्रत्यारोपण गरिएको जस्तोगरि प्रचार गरिन्छ। जुन गलत हो। अतिरञ्जना हो। ट्विस्ट हो । यसरी चाहिँ आमसञ्चार क्षेत्र बहकिनुहुन्न । विषयलाई ट्विस्ट गर्न हुन्न। जे हो, त्यही समाचार लेख्नुपर्यो । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भयंकर छ भनेर भन्नुभएन ।’
त्यतिमात्रै नभएर प्रधानमन्त्रीलाई भेन्टिलेटरमा राखिएकोबारे मिडियाले एकदम ठूला अक्षरमा समाचार छापेकोप्रति टिप्पणी गर्दै थापाले भने, ‘नेपाली समाजमा भेन्टिलेटरलाई यसरी चित्रण गरिएको छ कि मानौं अब विरामीको अन्तिम अवस्था भैसक्यो झैं गरि, यो त सामान्य कुरा हो। विरामीलाई रिस्क नहोस् भनेर ‘ब्याक–अप’को रुपमा भेन्टिलेटर प्रयोग गरिँदै आएको छ।’
त्यस्तै, अस्पतालका एक जना चिकित्सकले पनि आतंक सिर्जना गरेको उनको टिप्पणी छ। उनले भने,‘उहाँका सबै अंग काम लाग्न नसक्ने हुनसक्छ भनेर आतंक मच्चाईएको छ। उहाँलाई संक्रमण नहोस् भनेर भेन्टिलेलटरमा राखिएको हो। जनताको शुभेच्छाले उहाँ अहिले यो समस्याबाट पार भएर, संक्रमणबाट पार भएर आउनुभएको छ। उहाँ अहिले पनि सघन उपचार कक्षमा हुनुहुन्छ। अबको केही दिनपछि उहाँ पूर्ण स्वास्थ्यलाभ गरेर डिस्चार्च हुनुहुनेछ।’
उनले मिडियामा गलत समाचार आएकोप्रति आक्रोश र असन्तुष्टिमात्रै पोखनन् वैयक्तिक स्वतन्त्रतासम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७५ पनि पत्रकारहरुलाई सुनाए। उनले भने,‘नेपालमा एउटा कानून छ वैयक्तिक स्वतन्त्रतासम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७५ । त्यसले व्यक्तिका व्यैक्तिक स्वतन्त्रताहरुको संरक्षण गरेको छ। के–के कुरा गर्दा त्यो उल्लंघन हुन्छ, अतिक्रमण हुन्छ र कारबाही हुनसक्छ भन्ने सन्दर्भमा पनि यसमा व्यवस्था गरेको छ।
नेपालको सञ्चार क्षेत्रले सायद त्यो कानूनलाई पढेको छैन्। त्यो संसदबाट पारित भएको छ। प्रमाािण्त भएको छ। कानूनको रुपमा क्रियाशिल छ। कार्यान्वयन भैसकेको छ।त्यसमा भनिएका कुराहरु प्रस्तावनादेखि दण्डसजायसम्मका कुराहरुलाई उत्तरदायी पत्रकारिताका निम्ति आमसञ्चार क्षेत्रले पढ्नु र हेक्का राख्न जरुरी छ। मिडियाले यसलाई कार्यव्यवहारमा उतार्नु जरुरी छ भन्ने ध्यानाकार्षण गर्न चाहन्छु।’ थापाले व्यक्तिको मेडिकल प्राईभेसीको पनि उल्लेख गरे।
उनले भने, ‘मेडिकल प्राईभेसीले व्यक्तिको स्वास्थ्योपचार र औषधी के के लिने ? भन्ने गोपनियताको हकलाई सुरक्षा गरेको छ। संसारमा यो अभ्यास छ। हामी कहाँ तथ्यमा आधारित नभई स्रोतको हवला दिएर जथाभावी लेख्ने चलन छ। यस्तो गर्न मिल्दैन्। स्रोतको हवला दिएर आफ्नो जे मिशन हो र आफूलाई जे लाग्यो त्यही लेख्न र राख्न पाईदैन् ।’उनले प्रधानमन्त्री ओली डायलासिस गर्न गएपछि पनि आतंक मच्चाईएको टिप्पणी गरे।
उनले भने, ‘डायलासिस गरिँदा पनि आतंक, एपेन्डिसाईटिसको शल्यक्रिया हुँदा पनि आतंक। नाम चलेका अखवारहरुको प्याकेज नै मानौं यो अन्तिम अवस्था हो जस्तोगरि प्रस्तुत गर्ने, यो कुन तरिका हो ? यो चाहीँ चित्तबुझ्दो भएन।’ उनले नेपालका सञ्चारमाध्यम जति उत्तरदायी हुनुपर्ने हो त्यति नभएको गुनासो पोखे ।
उनले आफूहरुले ‘मिडिया–एक्सेस’ राम्रो दिएको पनि स्पष्ट पारे।
उनले भने,‘हामीले मिडिया एक्सेस दिएका छौं। केही सामरिक महत्वका बैठक र निर्देशनबाहेक हामीले मिडियालाई राम्रो पहुँच दिएका छौं। मिडियाले समिक्षा बैठक पनि लाईभ खिच्न पाएका छन। प्रवन्ध गरिएको छ। गोप्य बैठक भए भने पनि मिडियालाई ब्रिफ गरिएको छ।’
उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले खासगरी अस्पतालले हरेक दिन बिहान १० बजेको हाराहारी र बेलुका ७ बजेको हाराहारीमा विज्ञप्ती निकालेर मिडियामार्फत् जनतालाई जानकारी गराएको स्पष्ट पारे। तर, उक्त विज्ञप्तीमार्फत् समाचार नछापिएको उनको गुनासो छ।
‘भोलिपल्ट अन्यथा ढंगले नियोजित साथ सम्प्रेषण गरिएको छ। डायलासिस गरिनु कुन ठूलो कुरा हो ? भेन्टिलेटरको आतंक किन मच्चाउनुपर्यो ।’थापाले प्रश्न गरे । उनले अनावश्यक आतंक फैलाउनेहरुलाई कानूनको दायरामा ल्याउने चेतावनी दिए।
उनले भने, ‘अहिले त के भएको छ भने तपाई, हामी सबै पब्लिक अडिटमा छौं । तपाईले गरिरहेको कर्म पनि पब्लिट अडिटमा छ। मैले गरिरहेको काम पनि पब्लिक अडिटमा छ। सञ्चारक्षेत्र पनि जनताको निगरानीमा छन्। महालेखाले देशका आर्थिक गतिविधिहरुको परीक्षण गरेजस्तो जनताले हामी सबैको परीक्षण गरेका छन् नि । को- कहाँ ? र कसरी उभिरहेको छ ? भन्ने कुराको परीक्षण चलिरहेको छ ।’
थापाले थप भनेका छन्,‘जस्तालाई त्यस्तै भनेझैं हुँदैनन् विधि, कानून र प्रक्रिया छ। मैले त्यो कानून पढेर किन सम्झाईरहेको छु । तीन वर्ष कैद र तीस हजार वा तीन लाख जरिवाना छ। नेपालका प्रेसले बनेका कानूनको पनि हेक्का राख्नुपर्छ । जिम्मेवार पत्रकारिताले झनैं यसको हेक्का राख्नुपर्छ।’ उनले कानूनी राजभन्दा ठूलो कोही पनि नभएको स्पष्ट पारे।
उनले भने, ‘सबैले यो कुराको हेक्का राख्नुपर्छ। अहिले देखापरेका कुरा हाम्रा निम्ति शिक्षा हुन्। सहज सूचना सम्प्रेषणका लागि हामी तयार छौं। अहिले प्रधानमन्त्रीज्यूको स्वास्थ्यबारे आएका कुरा म्यानरलेस कुरा हो। कहिले के भन्ने ? हरेक काम, पेशाका मर्यादा र सिमा छन् । हामी सबै मर्यादा र सिमामा बस्नुपर्छ ।’



लाेकपाटी न्यूज

