घुम्टे महोत्सवमा हेलिकोप्टरमार्फत् दृश्यावलोकन

Helicaptar
लाेकपाटी न्यूज

थम्मन थापा/ बागलुङ, ११ मंसिर । मंसिर ४ गतेदेखि बागलुङमा प्रभु दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ सञ्चालन भईरहेको छ। महोत्सवमा मूख्य आकर्षणको रुपमा रहेको हेलिकोप्टरमार्फत् पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन हिजोदेखि सञ्चालन भईरहेको छ।

प्रभु हेलिकोप्टरमार्फत् दर्शकलाई गलकोट उपत्यकासँगै गलकोटको शिर पर्यटकीय तथा धार्मिक स्थल घुम्टे शिरमा सिद्व भैरव दर्शन गर्नेहरुको आज ओईरो नै लागेको छ। दिउँसो १ बजेदेखि हेलिकोप्टर उडान भइरहेको महोत्सव हेलिकोप्टर व्यवस्थापन समितिका सदस्य भुपेन्द्र खत्रीले जानकारी दिए। अहिले सम्म घुम्टेमा ६ ट्रिप गरिसकेको सदस्य खत्रीले बताए।

विशेष गरि गलकोट क्षेत्रबाट विदेशमा रोजगारीको सिलसिलामा रहेका आउन्तजन र छोरा छोरीले नेपालमा रहेका बाबा आमा र आफन्तजनलाई टिकट बुकिङ गरि हेलिकोप्टर बाट दृश्यावलोकनसँगै घुम्टेमा सिद्व भैरवको दर्शन गर्ने माहोल मिलाएका हुन्। महोत्सवमा हेलिकोप्टरमार्फत् दृश्यावलोकनले हेलिकोप्टर चढनेहरुले प्रकृतिको मनोरम दृश्य हेर्दै आनन्द त लिएकै छन् र बाहिर बसेका दर्शकले समेत आकाशतर्फ आँखा लगाउँदै मनोरञ्जन लिईरहेका छन्।

हेलिकोप्टर चढेर दृश्यावलोकन गर्दै घुम्टे शिरमा पुगेर सिद्व भैरवको दर्शनले आफू प्रफुल्ल भएको र स्वर्गै गएजस्तो अनुभुती भएको गलकोट नगरपालिका ५ हरिचौरका ८७ वर्षिय ज्येष्ठ महिला तिल कुमारी खत्रीले बताइन्। पहिले बचपनमा धेरै पटक जाने आउने गरेको भएता पनि बुढेशकालमा महोत्सवले हेलिकोप्टरमार्फत् दर्शन गर्न पाएको भन्दै आयोजक र टिकट व्यवस्था मिलाउने छोराहरुलाई धन्यवादसमेत ज्ञापन गरे।

हिजो मंगलबार उक्त हेलिकोप्टरले गलकोट उपत्यकामा १० ट्रिप गरेको थियो। महोत्सवमा हेलिकोप्टर चार्टरले महोत्सवको रौनकता र माहोल नै छुट्टै बनाई दिएको छ। दर्शकको चाहनालाई मध्यनजर गरी आज सकिनु पर्ने प्रभु दोस्रो गलकोट घुम्टे महोत्सवको समय अवधि १ दिन अर्थात भोली सम्मको लागि थप गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्