एजेन्सी। आफैँले पालेको कुकुरले चाटेपछि एक वृद्धको मृत्यु भएको छ। जर्मनीका ६३ वर्षीय वृद्धलाई कुकुरले चाटेका कारण दुर्लभ किसिमको संक्रमण भएको थियो। उनको मृत्युपछि घर पालुवा जनावरका मालिकलाई फ्लू लागेको जस्तो वा अचम्म खालको लक्षण देखिए तुरुन्त स्वास्थयकर्मीको सहयोग लिन डाक्टरले आग्रह गरेका छन्।
कुकुरले चाट्नुअघि निकै स्वस्थ रहेका ती वृद्धलाई कुकुर र बिरालोको मुखमा हुने क्यापनोसिटोफ्यागा क्यानिमोर्सस नामक ब्याक्टेरियाका कारण संक्रमण भएको रिपोर्टमा उल्लेख छ। यो मानिसमा निकै बिरलै सर्ने गर्छ। उक्त ब्याक्टेरिया टोकेको खण्डमा सर्ने गर्छ तर ती वृद्धालाई भने कुकुरले टोकेको थिएन।
‘उनलाई कुकुरले छोएको र चाटेको मात्रै थियो, टोकेको थिएन,’ जर्मनीको ब्रेमेनस्थित रेडक्रस हस्पिटलका डाक्टरले प्रकाशित गरेको पत्रमा उल्लेख छ। सुरुमा ती व्यक्तिलाई फ्लूजस्तो लक्षण देखिएको थियो तर पछि शरीरमा रगतको धब्बा देखिने, निल डाम देखिने र छालाको रङ नै परिवर्तन हुनेलगायतका समस्या देखिन थाले ।
ती व्यक्तिको आइसियुमा राखेर उपचार गरिएको थियो तर स्वास्थ्यमा आएको निरन्तरको खराबी र विभिन्न अंगले काम गर्न छोडेपछि उनको मृत्यु भएको डाक्टरले बताएका छन्।



लाेकपाटी न्यूज

