काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डिओथोरसिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको छ। आज बिहान पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई सेन्टरमा भर्ना गरिएको हो।
प्रधानमन्त्री ओली अस्पताल भर्ना भएको चिकित्सक प्राध्यापक अरुण सायमीले पुष्टि गर्दै उनलाई एपेन्डिसाइटिस भएको आशङ्का गरिएको बताए। उनका अनुसार शल्यक्रियाको तयारी भइरहेको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको बताएका छन्।
प्रधानमन्त्रीले पेट दुखेको भनेपछि अस्पताल ल्याइएको हो। हाल चिकित्सकहरूको टोलीले विभिन्न परीक्षण गरिरहेको छ। प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे केही क्षणमा चिकित्सकहरूले जानकारी गराउनृ थापाले बताए।
झण्डै १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली अहिले फेरि मिर्गौलाको समस्याबाट पीडित छन्। हालै उनको केही पटक हेमोडायालिसिस गरिएको थियो। एपेन्डिसाइटिसको समस्या त्यति जटिल नभए पनि ओलीको स्वास्थ्यमा विद्यमान अन्य समस्याका कारण अस्पताल भर्ना भएपछि चिकित्सकहरूले उनको परीक्षण गरिरहेको बताइएको छ।



लाेकपाटी न्यूज

