ठगीधन्दा चलाउने एजेन्ट पक्राउ

Baideshik rojgar
लाेकपाटी न्यूज

काठमाण्डौं। वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने कैलाश लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङ ढुङ्गेसाँघु घर भइ काठमाण्डौ कपन बस्दै आएका ३३ वर्षीय कैलाश लिम्बूलाई प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो।

विभिन्न व्यक्तिहरुसँग पैसा उठाइरहेको भन्ने सूचना र उजुरीका आधारमा वैदेशिक रोजगार विभागबाट खटिएको टोलीले १ लाख २० हजार रुपैयाँसहित कैलाश लिम्बूलाई पक्राउ गरेको हो। सिन्धुली घर भएका झलकबहादुर विक र पोष्टराज विक दुई दाजुभाइबाट नगद रकम लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको विभागले जनाएको छ।

लिम्बूले दुई दाजुभाइलाई मलेसिया पठाइदिन्छु भनी यस अघि नै ८० हजार रुपैयाँ लिइसकेका थिए। भिसा लागिसक्यो शनिबारको फ्लाइट छ, अब १ लाख ६० हजार रुपैयाँ लिएर आउनु भनेर दुई जना दाजुभाइलाई काठमाण्डौं बोलाएको थियो ।

तर यहाँ आएर आफूहरुको श्रमस्वीकृति नै नभएको थाहा भएपछि दुई दाजुभाइले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । नियन्त्रणमा लिइएका लिम्बूलाई कुनै म्यानपावरले रकम लिनको लागि परिचालन गरेको थियो वा थिएन भन्ने सम्बन्धमा अहिले अनुसन्धान भइरहेको विभागका महानिर्देशक भिष्मकुमार भुसालले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्