काठमाडौं, ९ मंसिर। हङकङमा सम्पन्न जिल्ला काउन्सिलको निर्वाचनमा प्रजातन्त्र पक्षधरहरूको जनलहर देखिएको छ।
जारी मतगणना अनुसार, प्रजातन्त्र पक्षधर मतदाताहरूले अहिलेसम्म २ सय ७८ सिटमा विजय हासिल गरेका छन्। चीन पक्षधर उम्मेदवार भने निकै कमजोर देखिएका छन्।
बीबीसीका अनुसार, अहिलेसम्म चीन पक्षधर ४२ उम्मेदवार मात्रै विजयी भएका छन्। विवादास्पद छवि भएका बेइजिङ पक्षधर सांसद जुनिअस हो अनपेक्षित रूपमा पराजित भएका छन्। हङकङ प्रहरीको समर्थक उनलाई यसै महिनाको सुरुवातमा एक नक्कली समर्थकले छूरा प्रहार गरेका थिए।
सुपुर्दगी सन्धिको विरोधमा भइरहेका प्रदर्शनहरूको अगुवाइ गरिरहेका नागरिक मानव अधिकार मोर्चाका नेता जिम्मी शाम विजयी भएका छन्। निर्वाचन ४ सय जिल्ला परिषद सदस्यका लागि भएको हो। निर्वाचनमा साढे २९ लाखभन्दा बढीले मतदान गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हङकङको जिल्ला परिषद् सदस्यहरूसँग केही राजनीतिक शक्ति हुन्छ। यसले स्थानीय मुद्दा जस्तैः सवारी रूट, फोहोर व्यवस्थापनलगायतमा सरोकार राख्छन्। सहरको कार्यकारी छनोटमा भने उनीहरूको कुनै भूमिका रहँदैन ।
सुपुर्दगी सन्धिलाई लिएर हङकङ पछिल्लो ५ महिनादेखि अशान्त छ। त्यसैले यो निर्वाचनलाई हङकङकी प्रमुख कार्यकारी क्यारी लामको परीक्षाको रूपमा हेरिएको थियो। तर, मतदाताले पछिल्लो प्रदर्शन र तनावप्रति असन्तुष्टि प्रकट गरेका छन्।



लाेकपाटी न्यूज

