काठमाडौं, ८ मंसिर। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बागलुङलाई टुक्राएर दुई जिल्ला बनाउने पश्चिम बागलुङका सर्वसाधारणलाई पार्टीले समर्थन गर्ने बताएका छन्। कांग्रेसले आज बागलुङको निसीखोलामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले जनताको मागअनुसारकै संरचना हुनुपर्ने भन्दै पश्चिम बागलुङको मागमा आफ्नो पार्टीको समर्थन रहने बताएका हुन्।
पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउनुपर्ने भन्दै कांग्रेस त्यस क्षेत्रमा क्रियाशील नेताहरुले बेलाबेलामा आवाज उठाउँदै आएका छन्। अहिले देशभर चलिरहेको राष्ट्रियताको सङ्घर्षमा सरकारले सोचेजस्तो पहलकदमी नगरेको बताउँदै देउवाले कूटनीतिक तवरबाट सिमानाको विवाद टुङ्गो लगाउनुपर्नेमा जोड दिए।
बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा उपनिर्वाचनको प्रचारप्रसारका सिलसिलामा आयोजना भएको आमसभामा देउवाले उत्तरगङ्गा जलाशययुक्त आयोजना बागलुङतर्फ नै बनाउनका लागि आफूले पहल गर्ने बताए।
मध्यपहाडी लोकमार्गको कामलाई तीव्र बनाउन र सालझण्डी ढोरपाटन लोकमार्गको काम थालनीका लागि पार्टीले दबाब सिर्जना गर्ने उनको भनाइ थियो। पश्चिम बागलुङसँग जोडिएका गौरवका आयोजना ओझेलमा रहेको भन्दै देउवाले जनताको हितमा हुनै जुनसुकै काममा कांग्रेसले साथ दिने बताए।



लाेकपाटी न्यूज

