देउवालाई सांसद शान्ता चौधरीका १२ प्रश्न

shanta chaudhary
लाेकपाटी न्यूज

काठमाडौं, ८ मंसीर। प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नेपाली भूमि मिचेर नेपालको नयाँ नक्शा बनाएको भन्ने अभिव्यक्तिको नेकपाकी सांसद शान्ता चौधरीले कडा शब्दमा निन्दा गरेकी छिन्।

देउवाको अभिव्यक्तिपछि नेकपाका नेताहरुले देउवालाई आफ्नो भनाइ पुष्टि गर्न चुनौति दिएका छन्। नेकपाकी नेतृ चौधरीले पनि देउवालाई १२ प्रश्न तेस्र्याएकी छिन्। उनले पटकपटक प्रधानमन्त्री भइसकेको व्यक्तिबाट यति तल्लो स्तरको अभिव्यक्ति आउनु निन्दनीय भएको बताएकी छिन्। यस्तो छ उनको स्टाटस।

नेपाली कांग्रेसका पार्टी सभापति एवं पटकपटक देशको प्रधानमन्त्री समेत भइसकेका शेरबहादुर देउवाको अभिव्यक्ति अत्यन्तै निन्दनीय र भत्र्सनायोग्य छ। आफ्नो हैसियत गुमाएर छुद्र, असभ्य र झुटको नांगो रुप प्रदर्शन गर्दै अभिव्यक्ति दिने देउवालाई हामीले दर्जनौं प्रश्न गर्न सक्छौं।

यस्ता छन् चौधरीका प्रश्न

  • तपाईं सत्तामा हुँदा राष्ट्रघाती सन्धिमा हस्ताक्षर किन गर्नुभयो ?
  • भारतले नाकाबन्दी लगाउँदा त्यतिबेला तपाईंको राष्ट्रवाद कहाँ लुक्यो ?
  • बालुवाटार परिसरको ललितानिवास लगायत देशभरि नै सार्वजनिक जग्गा भूमाफियालाई लुट्न दिने काम कसले गर्‍यो ?
  • सुन तस्करहरु कसले जन्मायो, सुनकाण्ड कसको पालामा भए ?
  • वाइडबढी विमान खरिदको सम्झौता गर्ने र पहिलो किस्ता रकम पठाउने काम किन गर्नुभयो ?
  • देशका उद्योगधन्दा र कलकारखाना कौडीको मूल्यमा बेच्ने काम कसले गर्‍यो ?
  • बहुदल आएपछि सरकारको नेतृत्व सबैभन्दा बढी कसले गर्‍यो ?
  • भ्रष्टाचारलाई संस्थागत गर्दै देश डुबाउने काम कसले गर्‍यो ?
  • दरबारलाई सत्ता बुझाउने काम कसले गर्‍यो ?
  • नेपालको सीमानाबाट भारतीय सेना हटाएर नेपाली भूमि फिर्ता गराउन तपाईंले किन सक्नुभएन ?
  • सम्माननीय प्रधानमन्त्रीले सीमानाका विषयमा भरतलाई खुला चुनौती दिँदा के सुनेर बस्नुभयो ?
  • कुटनीतिक पहलका लागि सरकारले नोट पठाइसकेको खबर पाउँदा पाउँदै बुझ किन पचाउनु भयो ?

चौधरीले देउवासँग सरकारले स्पष्टिकरण लिनुपर्ने धारणासमेत राखेकी छिन्। उनले लेखेकी छिन्, ‘शेरबहादुर देउवा जत्तिको हैसियतमा हुनेले यस्तो झुट र गम्भीर आरोप लगाइरहँदा उनले यसबारे स्पष्टीकरण दिन पर्दछ, सरकारले स्पष्टीकरण माग्न पर्दछ।’