थम्मन थापा\ बागलुङ, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाम एकताले राष्ट्रिय रुपमा नै एकताको सन्देश दिएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चा सम्वद्व बाम गठबन्धनले आज जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा आयोजना गरेको बृहत चुनावी आम सभालाई सम्वोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
अध्यक्ष प्रचण्डले तत्कालिन एमाले र माओवादी एकता भइसकेको अवस्थामा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी चुनावी मैदानमा जानुले मुलुकभर एकताको सन्देश दिएको बताए। ‘नेपालको विकासका लागि कम्युनिष्टहरु एक हुनुको विकल्प छैन’, अध्यक्ष दाहालले भने ‘अब कम्युनिष्टहरु फुटेर हैन जुटेर अगाडी बढेको सन्देश नै बाम गठबन्धन भएको उल्लेख गरे। एकताको प्रतिकका रुपमा बागलुङको वाम गठबन्धनलाई हेर्न सकिन्छ’ प्रचण्डले भने।
उनले केन्द्रले दिएको जिम्मेवारी अनुसार नेकपाले राजमोलाई सर्मथन गरी अत्यधिक मतले बाम उम्मेदवार खिम विक्रम शाहीलाई विजयी गराउन आग्रह गरे। उपस्थित नेता कार्यकर्ताकहरुको उल्लासलाई देखेर आजै निर्वाचन जितेको र घोषणा हुन् बाँकी रहेको महसुस भएको भन्दै प्रचण्डले खुसी व्यक्त गरे। उनले अहिले भारतले मिचेको कालापानी, लिपुलेक, नालापानी र लिम्पियाधुरा हाम्रै भू-भाग भएको भन्दै भ्रममा नपर्न जनतालाई आग्रह गरे। त्यसको लागि सरकार सबै राजनैतिक दल एक ढिक्का भइसकेको र कुटनैतिक ढंगबाट समस्याको समाधान गरिने उनको भनाइ छ।
प्रचण्डले विकासमा पछाडि परेको बागलुङको पश्चिम क्षेत्रमा विकासको लहर आउने भन्दै मध्यपहाडी लोकमार्गको सबै खण्ड कालोपत्रे, सालझण्डी ढोरपाटन सडकले पूर्णता पाउने र उत्तरगंगा जलाशय जलविद्युत आयोजनाले गति लिने बताए। प्रचण्डले प्रधानमन्त्री तथा उर्जामन्त्रीसँग तत्काल छलफल गरी निश्कर्ष निकाल्ने बताए।
उनले बुर्तिवाङ लाम्मेला सडक कालोपत्र गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बताए । बागलुङ क्षेत्र नम्बर २ को ख बाट निर्वा्चित प्रदेश सांसद टेक बहादुर घर्तीको गत वर्ष असामयिक निधन भएपछि यस क्षेत्रमा यही मंसिर १४ गते उप–निर्वाचन हुँदैछ।
यस अगाडि निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा स्वर्गीय सांसदलाई उम्मेदवार बनाएर विजयी हासिल गरेका थिए। अहिले नेकपाको सर्मथनमा राष्ट्रिय जनमोर्चाका तर्फवाट खिम विक्रम शाहीले उम्मेदवारी दिएका छन्। संयुक्त चुनावी आम सभामा नेकपाका महासचिव विष्णु पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी, नेकपाका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सांसद देवेन्द्र पौडेल, स्वर्गीय सांसद टेक बहादुर घर्तीकी धर्मपत्नी सुनमाया घर्ती, नकपाका नेता शेरमान घर्तीले मन्तव्य राखेका थिए।
विशाल चुनावी आम सभामा नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ता तथा शुभेच्छुकहरुको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षता, ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीको स्वागत र नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरेको सञ्चालनमा सम्पन्न भएको थियो।



लाेकपाटी न्यूज

