वाशिङ्टन, ७ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका चीनसँगको व्यापार सम्झौताको लागि निकै नजिक रहेको बताएका छन् ।
आगामी वर्षसम्म अमेरिका र चीनको बीचमा व्यापार सम्झौता हुन नसक्ने समाचार आइरहेको अवस्थामा ट्रम्पको यस्तो भनाइ आएको हो । ट्रम्पले अहिले अमेरिकालाई व्यापार सम्झौता गर्ने निकै राम्रो अवसर रहेको बताएका छन् ।
अहिले चीन र अमेरिका पहिलो चरणको व्यापार सम्झौताको तयारीमा अघि बढिरहेका छन् । दुवै पक्षले आफूहरु व्यापार सम्झौताको लागि तयार रहेको बताइरहेका छन् ।
तर अझैसम्म पनि पहिलो चरणको व्यापार सम्झौता कहिले हुने भन्नेबारे कुनै निर्णय हुन सकेको छैन । ट्रम्पले व्यापार सम्झौता नहुँदा अमेरिकालाई कुनै नोक्सानी नरहेको बताए । उनले अतिरिक्त अयातकरबाट अमेरिकालाई उल्लेख्य फाइदा पुगिरहेको दाबी गरे ।
यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकासँग आपसी सम्मान र समानताको आधारमा व्यापार सम्झौता हुने बताएका छन् । यसबारे बोल्दै ट्रम्पले आफूलाई समानता भन्ने शब्द नै मन नपरेको बताए । उनले यसरी सम्झौता हुन नसक्ने जीकिर गरे ।
अमेरिका र चीनको बीचमा हुने व्यापार सम्झौताले अमेरिकाले अहिले अघि सारेको अतिरिक्त कर बढाउने योजनालाई स्थगित गर्न सक्ने अपेक्षा गरिएको छ । अमेरिकाले डिसेम्बर १५ देखि अर्को चरणमा चिनियाँ सामग्रीमाथि अतिरिक्त भन्सार महशुल लगाउने घोषणा गरिसकेको छ ।
ट्रम्पले अहिलेको व्यापार वार्तामा कुनै किसिमको असर नपरोस् भन्नका लागि आफूले हङकङ आन्दोलनको विषयमा केही नबोलेको बताएका छन् ।



लाेकपाटी न्यूज

