भक्तपुर, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कमजोर बनाउने प्रयास भइरहेको बताएका छन्।
भक्तपुरको खरिपाटीमा लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले संघीयता नबुझेकाहरुबाट संघीयतालाई कमजोर बनाउने प्रयास भइरहेको बताएका हुन्। उनले संघीयता प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा आउन नसकिरहेका बेला विरोधीहरु सक्रिय भएको आरोप लगाए। अध्यक्ष प्रचण्डले संघीयतालाई पूर्णता दिँदै जातीय, वर्गीय र लैङ्गिक उत्पीडन अन्त्य गर्न बाँकी रहेको बताए।
कार्यक्रममा गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले एकीकृत दुई ठूला कम्युनिष्ट पार्टीको एकतालाई मूर्तरूप दिन नयाँ सङ्गठनात्मक संरचना गठन गरी नयाँ शक्ति निर्माण गर्न बाँकी रहेको बताए। उनले मुलुकको समृद्धिका लागि मार्क्सवाद, लेनिनवाद र समाजवादलाई पनि समृद्ध बनाउँदै लानुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
गृहमन्त्री थापाले एकीकृत पार्टीले तय गरेका सिद्धान्त, नीति, कार्य्दिशा र रणनीतिलाई सशक्त ढङ्गबाट अगाडि बढाइने बताए। देशभरबाट २५१ जना सहभागी भएको दुई दिनसम्म चल्ने प्रशिक्षणले मोर्चाको राजनीतिक प्रतिवेदन तथा अन्तरिम विधानमाथि छलफल गर्ने लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चाका केन्द्रीय संयोजक भोजविक्रम बुढामगरले जानकारी दिए ।



रासस न्यूज

