काठमाडौं, ६ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा सफल हुने विश्वास दिलाएका छन्। सोहीअनुसार आफूहरुले तयारी गरेको पनि उनले स्पष्ट पारे।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले भ्रमण वर्ष सफल बनाउने गरी कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले विगतमा ५\६ महिना मन्त्रालय राजनीतिक नेतृत्वविहीन भएकोले भ्रमण वर्षको तयारीमा केही ढिलाई भएपनि अहिले काम द्रुत गतिमा अघि बढिरहेको स्पष्ट पारे। उनले भने,‘म आएपछि भ्रमण वर्ष सफल तुल्याउन लगातार छलफल गरेको छु, यससँग सरोकारवालाहरुसँग पनि धेरै पटक छलफल तथा अन्तरक्रिया गरेको छु।’
साक्षात्कारमा बोल्दै उनले भ्रमण वर्षको लागि आवश्यक बजेटको पनि प्रबन्ध गरिएको स्पष्ट पारे। अघिल्लो आर्थिक वर्षमा भ्रमण वर्षको लागि दश करोड बजेटमात्रै छुट्याइएको यो वर्ष १५ करोड बजेट छुट्याइएको उनले बताए। उनले भने, ‘भ्रमण वर्षको लागि २५ करोड बजेट भनेको न्यून हो, अहिले हामीले ६५ करोडको बजेट पास गरेका छौं ।’
उनले पर्यटन वर्षको प्रचारको लागि पनि सरकारले विशेष ध्यान दिएको बताए। सन् २०२० को जनवरी १ तारिखमा भ्रमण वर्षको भव्य शुभारम्भ हुने उनको भनाई छ । उनले भने,‘यो कार्यक्रम देशभरि नै एकसाथ सुरु हुनेछ । काठमाडौंमा हामीले केही दिनभित्रै ठाउँ घोषणा गर्छौं । दशरथ रंगशाला, सैनिक मञ्चलगायत कहाँ हुन्छ, हामी तोक्छौं ।’ भ्रमण वर्षको शुभारम्भमा पचासौं हजार जनसहभागिता रहने पनि उनले विश्वास दिलाए ।
त्यस्तै, उनले भ्रमण वर्षलाई लक्षित गरेर आफूले ४० भन्दा बढि देशका पर्यटनमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिईसकेको पनि जनाए । उनले भने,‘हामीले नेपाल घुम्न आउने पर्यटकहरुको आधारमा मैले ४० देशका पर्यटकमन्त्रीहरुलाई निम्तो पठाएको छु ।’ भट्टराईले सोही सन्दर्भ पारेर नेपालमा टुरिज्म मिनिष्ट्री कन्क्लेभ पनि आयोजना गरिने जानकारी दिए । ‘यो कन्क्लेभ ऐतिहाँसिक हुनेछ ।’ उनले भने ।
भ्रमण वर्ष सफल तुल्याउनको लागि पर्यटन प्रर्वद्धन गर्ने विभिन्न अन्तर्राष्ट्रिय संघ, संस्था, विभिन्न चर्चित अन्तर्राष्ट्रिय व्यक्तित्वहरु (कलाकार, खेलाडी) लाई पनि नेपाल भ्रमणको लागि आमन्त्रण गरिएको उनले बताए। उनले भने, ‘हामीले विश्वमै चर्चित व्यक्तित्वहरुलाई प्रचासप्रसारको लागि पनि सद्भावना दुत बनाएका छौं । उहाँहरुबाट सहयोग लिने क्रम जारी छ ।’
त्यस्तै, विदेशमा रहेका नेपाली कुटनीतिक नियोग, संघ संस्थाहरुलाई पनि नेपाल भ्रमण वर्षको कार्यक्रम गर्न निर्देशन गरिएको बताए। उनले भने, ‘नेपालको प्रतिनिधित्व गर्ने विभिन्न कुटनीतिक नियोगहरुलाई हामीले नेपाल भ्रमण वर्षको भव्य उद्धघाट्न गर्न निर्देशन दिएका छौं । हाम्रा विदेशस्थित् नियोगहरुले जनवरी ७ तारिखमा कार्यक्रम गर्नेछन्।’
प्रत्येक देशबाट ठूलो संख्यामा नेपाल भ्रमणको लागि पर्यटकहरु पठाउनको लागि पनि आफूहरुले परराष्ट्र मन्त्रालयको सहयोगमा निर्देशन दिईसकेको उनको भनाई छ। उनले भने, ‘अब पर्यटन, विकास र आर्थिक कुटनीतिलाई बढावा दिनुपर्छ। नेपालमा लगानी भित्र्याउनको लागि विदेशमा रहेका हाम्रा नेपाली राजदुतहरुले विशेष भूमिका खेल्नुपर्छ । कुन देशबाट नेपाल भ्रमणमा बढि पर्यटकहरु आउनुहुन्छ, त्यो हेरेर हामी ती देशमा रहेका हाम्रो राजदुतहरुलाई पुस्कृत पनि गर्छौं ।’
विश्वका प्रमूख शहरहरुमा यतिवेला नेपाल भ्रमण वर्षको प्रचारप्रसार तिव्र भइरहेको उनले जनाए । उनले भने, ‘विदेशमा रहेका गैरआवासी नेपालीहरुले पनि यसको प्रचारप्रसारको लागि विशेष भूमिका निर्वाह गरिरहनुभएको छ। नेपाल भ्रमणमा सबैभन्दा बढि आउने विश्वका दश शहरलाई हामीले सेलेक्ट गरेका छौं । त्यहीअनुसार प्रचार प्रसारको लागि फोकस गरेका छौं।’ नेपाल भ्रमण वर्षको प्रचारप्रसारको लागि अन्तर्राष्ट्रिय मिडियालाई पनि उपयोग गर्ने उनको भनाइ छ।
नेपाल भ्रमण वर्षमा संस्कृति तथा प्रकृति दुबैको प्रर्वद्धन हुने र सोहीअनुसार आफूहरुले काम गरिरहेको उनले स्पष्ट पारे। उनले भने, ‘पर्यटन प्रर्वद्धनअन्तर्गत हाम्रो मन्त्रालयले गर्ने काम भनेको नै विमानस्थलको निर्माण र विस्तार, सेवासुविधा विस्तार गर्ने पर्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान सेवालाई प्रोत्साहन गर्ने हो, यी काम हामीले अहिले द्रुत गतिमा गरिरहेका छौं। अब केही महिनाभित्रै अर्को अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुनेछ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९० प्रतिशत निर्माण काम सम्पन्न भइसकेको छ। अब यो अन्तिम तयारीमा छ।’ मन्त्री भट्टराईले आफू पनि उक्त विमानस्थलको कार्यप्रगति हेर्नको लागि नियमित अनुगमनमा गइरहेको बताए।
उक्त विमानस्थलबाट हवाई सेवा सञ्चालनको लागि (उडानयोग्य) बनाउनको लागि अध्यागमन, भन्सार, एयरलाईन्सका कार्यालय राख्ने, सुरक्षाको प्रवन्ध गर्नेलगायतका केही महत्वपूर्ण काममात्रै बाँकी रहेको बताए। उनले आगामी सन् २०२० को मार्चबाट सेवा सुरु गर्ने आफूहरुको लक्ष्य यथावत रहेको पनि स्पष्ट पारे। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालको पर्यटन प्रर्वद्धन हुने विश्वास व्यक्त गरे। उनले भने, ‘यो विमानस्थल सञ्चालनमा आएपछि नेपालको अर्थतन्त्र धेरै मजबुद हुन्छ। यो सञ्चालनमा आएपछि पश्चिम नेपालमा पर्यटकीय सुविधा थपिनेछ।
त्यस्तै, उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि ५० प्रतिशतभन्दा बढि सम्पन्न भैसकेको बताए। उनले भने,‘यो आगामी सन् २०२१ को जुनमा सकिनुपर्छ। हाम्रो लक्ष्यअनुसार त यही हो, तर अहिले प्राप्त रिपोर्टअनुसार यो लक्ष्यभन्दा ६ महिनाअघि नै सम्पन्न हुनेछ ।’
उनले काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुदृढीकरण र विस्तारको काम पनि भैरहेको बताए। उनले भने,‘काठमाडौंको एयरपोर्टमा जहाज होल्ड हुने समस्या छ। यो समस्याप्रति म संवेदनशील छु । अपरेशन टिमसँग धेरै पटक बैठक तथा छलफल गरेको छु। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको पूननिर्माणको काम सम्पन्न भएको छ। अहिले यो अन्तर्राष्ट्रियस्तरको भएको छ। अब ट्याक्सी वेको पनि पूननिर्माणको काम सम्पन्न हुँदैछ।’ उनले विमानस्थलमा जहाज होल्ड हुने समस्या हुनुको मुख्य कारण भनेको जहाज पार्किङपनि पर्याप्त नभएको बताए।
उनले भने,‘अब विमानस्थलमा पार्किङ लट थपिनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधार ल्याउने गरी म काम गरिरहेको छु।’ उनकाअनुसार त्रिभुवन विमानस्थलले वार्षिक ७२ लाख यात्रुलाई सेवा दिइरहेको बताए। उनले वैकल्पिक विमानस्थलहरु सञ्चालनमा आएपछि काठमाडौं एयरपोर्टमा लोड कम हुने बताए। उनले भने, ‘बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्विकल्प हो। दुई दिनअघि मात्रै पनि म त्यहाँ पुगेर छलफल गरेको छु।
निजगण विमानस्थल बनाउनेबारे गलत प्रचार गरियो। यस्तो गलत प्रचार गर्नु भनेको नेपालमा विकास गर्न नदिने षड्यन्त्र भैरहेको छ। यसको लागि नेपाली साथीहरु शिकार हुनुभयो। मलाई दुःख लागेको छ।’ केरुङ–काठमाडौं–लुम्बिनी रेल ल्याउने काम हुन लागेको उनले बताए।



लाेकपाटी न्यूज

