जनकपुरधाम, ६ मंसिर। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँगको एकता तत्कालका लागि रोकिएको बताएका छन्।
शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले समाजवादी पार्टीले सरकार छाड्न नमान्दा एकता रोकिएको बताएका हुन्। ‘समाजवादी पार्टी सरकारबाट बाहिर आउन नमानेकै कारण एकता प्रक्रिया रोकिएको छ’ उनले भने, ‘एकताका लागि सरकार छाड्नुपर्छ भन्ने पहिलो शर्त नै पूरा हुन सकेको छैन। अनि कसरी एकता हुन्छ ?’
देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको तर सरकारमा बसेर त्यो सम्भव नहुने महतोले बताए। महतोले आफूहरु सरकारमा सहभागी हुने सम्भावना नरहेको पनि दोहोर्याएका छन्। उनले भने ‘सरकारको काम सरकारमा आउन भन्नु हो। तर हामी तत्कालै जाने सम्भावना पनि छैन।’
संविधान संशोधनलगायतका आफूहरुको मागप्रति सरकारले चासो नदिएको बेला सरकारमा सहभागी हुने प्रश्नै नहुने उनले बताए।



लाेकपाटी न्यूज

