काठमाडौं, ५ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई समन्वय गरी काम गर्न निर्देशन दिएका छन्। नवनियुक्त मन्त्रीहरुसँगको पहिलो बैठकमा उनले मन्त्रीलाई सचिव र सचिवलाई कर्मचारीसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका हुन्।
सचिव र कर्मचारीले काममा ध्यान नदिए आफू मात्रै चटपटाएर काम नहुने भन्दै ओलीले गम्भीर हुन आग्रह गरे। चार महिनाभित्र काठमाडौं उपत्यकाका खाल्डाखुल्डी पुर्न उनले निर्देशन दिए।
त्यस्तै आउने चौमासिकभित्र ५० प्रतिशत पुँजीगत खर्च हुनेगरी विकासका काम गर्न उनले निर्देशन दिए। चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल भ्रमणमा आउँदा देखिएको विकासलाई लक्षित गर्दै उनले चाहेमा सात दिनभित्रै धेरै काम हुन्छ भन्ने उदाहरण जनताले देखिसकेको बताए। कार्यविभाजन गरेर राज्यमन्त्रीलाई पनि जिम्मा दिन उनले आग्रह गरे।
मन्त्रीहरुलाई पारदर्शी हुन उनले निर्देशन दिए। ‘तपाईको पछाडि पनि मान्छे लगाएको छु, तलमाथि भए कारवाही हुन्छ’ उनले भने। देशको विकासमा आफूहरु ड्राइभिङ सिटमा रहेको कुरा स्मरण गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे। ओलीले अब मुलुकमा उद्योग तथा उत्पादनमूलक क्षेत्रको विकास हुनपर्ने बताए। सम्बद्ध विभागहरुलाई पनि समन्वय गराउन उनले निर्देशन दिए।



लाेकपाटी न्यूज

