मन्त्रीबाट विदा हुँदा गाैरवकाे अनुभूति गरिरहेकाे छु : गाेकर्ण विष्ट

Gokarna Bista-5
लाेकपाटी न्यूज

काठमाडौं, ५ मंसिर। निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्री पदबाट विदा हुनु दुर्भाग्य नभइ भाग्य ठानेको बताएका छन्। श्रम मन्त्रीबाट विदाभएसँगै मन्त्रालयको कामकारवाहीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री विष्टले स्थायी सरकारको अस्थायी मन्त्रीको रुपमा विदा भएको बताए। उनले राजनीतिक तरलताले गर्दा आफू विदा हुनु परेको टिप्पणी गरे।

आफूले मन्त्रालयमा रहँदा लाखौं श्रमिकको हितको पक्षमा काम गरेको मन्त्री विष्टले दाबी गरे। ‘यो लाखौं श्रमिकको भविष्यको मन्त्रालय हो र राम्रो बनाउन प्रयास गरेको थिएँ’ उनले भने,‘पार्टी र सरकारले नरुचाएको कारण विदा भएँ।’

उनले शुरुमा चार कोठामा सिमित भएको मन्त्रालयलाई व्यवस्थित गर्ने काम आफूले गरेको मन्त्री विष्टको भनाइ थियो। आफ्नो कार्यकालमा पाँच देशसँग श्रम सम्झौता, १६ देशसँग काउन्सुलर मार्फत श्रम सम्झौताको प्रयास भएको उनको भनाइ थियो। आफ्नो कार्यकालमा श्रम मन्त्रालयलाई स्थानीय तहसँग जोड्न पहल गरेको उनको भनाइ थियो।

विष्टले आफूलाई श्रम मन्त्रालयको जिम्मेवारी दिएकोमा प्रधानमन्त्री केपी ओलीलाई धन्यावाद दिए। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बुधवार साँझ २५ सदस्यीय नयाँ मन्त्रिमण्डलको पुनर्गठन गरेकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्