नयाँ मन्त्री नियुक्ति कम्युनिष्ट मूल्यमान्यता विपरित छ : प्रभू साह

Prabhu Sah
लाेकपाटी न्यूज

काठमाडौं। नेकपाका नेता एवं प्रदेश नं.–२ का अध्यक्ष प्रभू साहले नवगठित मन्त्रीपरिषदप्रति असन्तुष्टि व्यक्त गरेका छन्। फेसबुकमा स्टाटस लेख्दै साहले नयाँ मन्त्री परिषदको औचित्यमाथि प्रश्न उठाएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार पोष्ट गर्दैै पूर्वमन्त्री समेत रहेका साहले कार्यसम्पादनका आधारमा मन्त्रीपरिषद् पुनर्गठन गर्ने भनिए पनि गुटगत, पूर्वाग्रह र लेनदेनका आधारमा मन्त्री बनाइएको दावी गरेका छन्। उनले मन्त्री हटाउँदा या राख्दा सामान्य कम्युनिष्ट मूल्य मान्यता पनि नअंगालिएको आरोप लगएका छन्।

योग्यलाई हटाएर अयोग्यलाई मन्त्री बनाएको भन्दै पार्टी नेतृत्वप्रति कटाक्ष गरेका उनले यस्तो महान् कार्यले हामी फेरि एकचोटी लज्जित हुन पुगेको उल्लेख गरेका छन्। मन्त्रीपरिषद पुनर्गठन हुनुअघि मन्त्रीपरिषद्मा साह पनि सहभागी हुन सक्ने चर्चा थियो। धेरैले मधेशबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई हटाउँदा साह पनि मन्त्री हुन सक्ने आंकलन गरेका थिए।

तर, तात्कालीन नेकपा (माओवादी केन्द्र) बाट रामेश्वर राय यादव मन्त्रीमा आएपछि साह असन्तुष्ट बनेका हुन्। साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको दावेदारका रुपमा हेरिएको थियो। मधेशबाट मात्रिका यादव हट्दा साह स्वतः मन्त्रीमा आउने अड्कलबाजी गरिएको थियो। यस्तो छ प्रभू साहको स्टाटस।

‘कार्यसम्पादनका आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो। मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन। योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एकचोटी लज्जित भएका छौं।’