मन्त्रीका लागि रस्साकस्सी : को-को जालान्, को-को आउलान् ?

लाेकपाटी न्यूज

काठमाडौं, ४ मंसीर। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु हेरफेर गर्ने तयारी थालेका छन्। हटाउने र नयाँ थप्ने मन्त्रीमा सहमति जुटाउन नेकपाले मध्यान्ह सचिवालयको बैठक बोलाएको छ।

सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने र थप्ने मन्त्रीको नामावली प्रस्ताव गर्ने तयारी गरिरहेको स्रोतले बतायो। प्रधानमन्त्रीले मन्त्रीमण्डल हेरफेरका लागि राष्ट्रपतिसँग पनि परामर्श गरिसकेका छन्। बुधबार बिहान प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

मंगलबार नै प्रधानमन्त्री ओलीले बुधबार मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुनसक्ने कुराको जनाउ मन्त्रीपरिषद बैठकमै दिइसकेका छन्। मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकमा बुधबार मन्त्रिमण्डल हेरफेर हुन सक्ने भएकाले मन्त्रीहरूलाई औपचारिक कार्यक्रममा कतै नजान आग्रह गरेका थिए। उनले आफूले नयाँ ढंगले काम गर्न चाहेको बैठकमा ब्रिफिङ गरेका थिए।

‘भोलि मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने सम्भावना छ,’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै एक मन्त्रीले भने, ‘को–को बाहिरिनु हुन्छ, को–को रहनुहुन्छ अहिल्यै म भन्दिन। यसलाई अन्यथा नलिनुहोला।’ बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुको नाम त लिएनन्। तर, जनता र विकास निर्माणसँग प्रत्यक्ष जोडिएका मन्त्रालयमा आफूले प्रगति चाहेको भन्दै हट्नसक्ने मन्त्रीहरुबारे जनाउ दिएका थिए।

प्रधानमन्त्री ओलीले आइतबार बेलुका नै मन्त्रीबाट हटाउनेहरुको लिष्ट तयार पारिसकेको श्रोतको दावी छ। ओलीले कम्तिमा पाँच मन्त्री र २ राज्यमन्त्रीलाई बुधबार बिदाइ दिने गरी प्रस्ताव सचिवालय बैठकमा पेश गर्ने तयारी गरेका छन्। नेकपाका अध्यक्ष प्रचण्डले भने मन्त्री फेरबदलको क्षेत्राधिकार आफ्नो नभएको भन्दै अनावश्यक रुपमा आफूलाई नजोड्न आग्रह गर्दै आएका छन्।

पूराना मन्त्रीहरुलाई बिदाइ दिएपछि नयाँ मन्त्री को ल्याउने भन्नेबारे नेकपाभित्र औपचारिक निर्णय भइसकेको छैन। तर, प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुको लिष्टसमेत बुधबारको सचिवालय बैठकमा पेश गर्ने स्रोतले बतायो। नयाँ मन्त्रीका केही नयाँ र केही पूराना अनुहार आउने आंकलन गरिएको छ।

मन्त्री हेरफेर हुने भएपछि नेताहरुको दौडधुप बढेको छ। प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालकहाँ मन्त्री बन्न चाहनेहरुको दौडधुप बढेको हो। हटाइएका मन्त्रीहरुको ठाउँमा पूर्ववत समूहबाटै नयाँ मन्त्री ल्याइने भएपछि नेकपाभित्र मन्त्रीका लागि रस्साकस्सी बढेको हो।

प्रतिनिधि सभाको सभामूख पदका लागि हुने निर्वाचनलाई लक्षित गर्दै त्यहाँ लैजाने नेताहरुको व्यवस्थापनका बारेमा पनि बुधबारको बैठकमा छलफल हुने कार्यसूचि रहेको स्रोतले बतायो। त्यसका लागि बहालवाला उपसभामूखको जिम्मेवारीबारे पनि बिकल्पसहित छलफल हुनेछ।