काठमाडौं, ३ मंसिर । तेल बोक्ने नेपाल आयल निगमको ट्याङ्कर अपहरणमा परेको छ। २० हजार लिटर डिजेल लोड गरेर हिँडेको ट्याङ्कर सिरहाको लहानबाट अपहरणमा परेको हो।
आइतबार अमलेखगञ्ज डिपोबाट विराटनगरका लागि हिँडेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर सिरहाका लहानबाट अपहरणकारीले कब्जा गरेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। गोइतका अनुसार नेपाल आयल निगमका ढुवानीकर्ता राजेश गुप्ताको नाममा करार सम्झौता भइ सञ्चालनमा रहेको उक्त ट्याङ्कर ८ जना अपहरणकारीले कब्जामा लिएका हुन्।
हाल ट्याङ्कर कहाँ र कस्तो अवस्थामा छ भन्ने विषयमा कुनै जानकारी प्राप्त हुन् नसकेको गोइतले जानकारी दिए। आइतबार राति करिब १२ बजेको समयमा लहानस्थित हुलाक कार्यालय अगाडि विश्राम गर्नका लागि पार्किङ गरिएको अवस्थामा ट्याङ्करलाई अपहरणकारीले कब्जामा लिएका आयल निगमले जनाएको छ।
ट्याङ्ककरका चालक र सहचालकलाई आँखामा पट्टी बाँधेर गाडीमा राखेर बर्दिबास र लालबन्दी बीचको जंगलमा लगेर छाडेको गोइतले जानकारी दिए। आयल निगमले पेट्रोल ट्याङ्कर अपहरणमा परेको सम्बन्धमा छानबिन गर्न इञ्जिनियर अशोक साहको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरेको छ। उक्त समितिलाई सत्यतथ्य बुझेर ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।



लाेकपाटी न्यूज

