पोखरा, ३ कात्तिक। नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले वृद्ध, असहाय, असक्तको जिम्मा राज्यले लिने बताएकी छन्। उनले अहिले नेकपाको सरकार रहेको उल्लेख गर्दै यस प्रकारको कानून बनाएर वृद्धहरुको संरक्षण, असहाय र अशक्तलाई सामाजिक सुरक्षाका लागि भत्ता दिने सुरुआत नेकपाले गरेको स्मरण गर्दै यसलाई अझ व्यवस्थित र व्यवहारिक बनाइने बताइन्।
पोखरा १७ मा चुनावी घरदैलोमा उनले आफूले सबै धर्म, संस्कृतिलाई सधै सम्मान गर्ने गरेको जनाइन् । धर्म र संस्कृति समाजका अभिन्न पाटा हुन्,’उनले भनिन्, तर यी समयसापेक्ष रुपमा परिमार्जन गर्नु जरुरी छ। उनले गुप्तेश्वर मन्दिरमा चलिरहेको अखण्ड भजनकीर्तनमा सहभागी भई भक्तजनसँग मतसमेत मागिन्। डेभिजफलको एक बैंकमा वृद्धभत्ता लिन लामबद्ध वृद्धवृद्धालाई आगामी दिनमा भत्ता बढाउने प्रतिवद्धतासमेत उनले गरिन् ।
नेकपा गण्डकी अध्यक्ष हितराज पाण्डे (उत्तम)ले कास्की २ मा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताए। अहिलेसम्म प्राप्त उपलब्धिलाई बचाउन पनि नेकपा उम्मेद्वारलाई जिताउनुपर्ने उनको भनाइ छ। सभामा नेकपा केन्द्रीय सदस्यद्वय तिलक महत र रामकुमारी झाक्रीले रवीन्द्रका सपना पूरा गर्न प्राज्ञिक व्यक्तित्व विद्यालाई पार्टीेले उम्मेदवार बनाएको बताए।
यसैबिच, पोखरा २० भलाममा चुनाव परिचालन कमिटीले मंगलबार महिला भेला गठन गरेको छ। भेलाले लक्ष्मीदेवी सुवेदीको अध्यक्षतामा ५१ सदस्यीय महिला परिचालन कमिटी गठन गरेको हो।
कार्यक्रममा नेकपा नेतृ गायत्री गुरुङले महिला सशक्तीकरण र अधिकारका लागि महिला उम्मेदवार र नेकपालाई नै जिताउन आग्रह गरिन्। भेलामा अनेमसंघ कास्की अध्यक्ष शुशीला पराजुली, नेकपा कास्की सदस्य पवित्रा गुरुङ, नेकपा २० महिला ईञ्चार्ज मनभुजा विक र जिल्ला कमिटी सदस्य शकुन्तला गुरुङ लगायतले बोलेका थिए।
पोखरा २० का चुनावी कमाण्डर विश्वप्रकाश लामिछानेले पोखरा २० भलाममा मंसिर ७ गते उम्मेदवारसहितको घरदैलो हुने बताए। यसैविच, नेकपा पोखरा ७ ले वडालाई ३ भागमा छुट्टाएर चुनावी अभियान गरिरहेको छ।
नेकपा वडा ७ का अध्यक्ष पुरुषोत्तम रेग्मीले घारीपाटन क्षेत्रमा तेजनारायण अधिकारी, राजकुमार दुलाल, विष्णुप्रसाद बराल र ढाँड क्षेत्रमाओम गौचन, भूमि पराजुली, कमला रानाभाट नेतृत्वको टोली घरदैलोमा रहेको बताए। मासबार क्षेत्रमा अध्यक्ष रेग्मीसहित दीनबन्धु पौडेल, शशिकला बराल, जनक पराजुली, मोतिराम बराल, टंकराज बराल लगायतले मत मागिरहेका छन्।
पोखरा ३३ का चुनावी कमाण्डर भीम कार्कीले बुधबार वडामा उम्मेदवारसहित घरदैलो हुने बताए। उनले ३ तहका सरकारले गरेका कार्य राम्रोसँग बुझेपछि जनताले नेकपालाई अघिल्लो निर्वाचनभन्दा बढी मत दिने दाबी गरे । नेकपाले पोखरा १५ फलेपाटन क्षेत्रमा घरदैलो गरेको चुनावी कमाण्डर बखानसिंह तमु आभासले उल्लेख गरे।
यता, नेकपाले पोखरा ४ मा आदिवासी जनजाति निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीमा राजकुमारी भुजेल ईञ्चार्ज र भक्त तामाङ संयोजक छन्।
पोखरा २१ निर्मलपोखरीका चिलाउने खर्क, बाँसपानी, महबारी, थाप्ले तिलाहार, फोक्सिङ, शिवालय र कृष्तीका गाउँका मतदातामाझ पनि नेकपाले घरदैलो गरेको छ।पोखरा २१ का चुनावी कमाण्डर दीपक पौडेलले मतदाताको उत्साहपूर्ण जनसहभागितामा चुनावी अभियान जारी रहेको बताए।



लाेकपाटी न्यूज

