जनार्दन शर्माको अपील : ‘निजामती ऐनको मस्यौदामाथि सुझाव दिनुस्’

Janardan Sharma
लाेकपाटी न्यूज

काठमाडौं, २ मङ्सीर। पूर्वगृहमन्त्री एवं नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले छलफलको क्रममा रहेको निजामती ऐनका मस्यौदामाथि सुझाव दिन सरोकारवाला र विषय विज्ञहरुलाई आग्रह गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता शर्माले उक्त अपील गरेका छन्। शर्माले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेर निजामती सेवालाई प्रभावकारी बनाउनबारे सघन छलफल र बहस गर्दै आएका छन्। उनले नेपालको निजामती प्रशासनमा आमूल परिवर्तनको खाँचो रहेको बताउँदै आएका छन्।

शर्माले लेखेका छन्, ‘समृद्ध नेपाल र सुखी नेपालीको नारा तय भएको छ। सोअनुरुप संरचनाहरु पनि हुन जरुरी छ। यतिबेला राज्यको महत्वपूर्ण अंगका रुपमा रहेको निजामती ऐन निर्माणको छलफलमा छौं। उक्त ऐनमार्फत् काम टार्ने प्रवृत्ति, जिम्मेवारी पन्छाउने मनोवृत्ति, अपारदर्शिता जस्ता क्रियाकलापहरु समेतलाई निरुत्साहित गरेर राष्ट्र र जनताप्रति उत्तरदायी भएर समयमै काम सम्पन्न गर्न सक्ने सक्षम र योग्य कर्मचारीतन्त्र आवश्यक छ।’

उनले थपेका छन्, ‘उक्त आवश्यकता पूरा गर्न, कार्यसम्पादन सहित जनताप्रति उत्तरदायी बन्न सकारात्मक प्रतिस्पर्धा गर्दै राष्ट्र निर्माणमा प्रतिबद्ध कर्मचारीलाई प्रोत्साहन गर्नका लागि आवश्यक कानूनी व्यवस्था गर्न तपाईहरुका महत्वपूर्ण सुझावका लागि हार्दिक अनुरोध गर्दछु। कृपया यस विषयका जानकार, सरोकारवालाहरुका तर्फबाट सकारात्मक सुझावको अपेक्षा गर्दछु।’

facebook status